Mero Chitwan
एमालेमा भीम रावल निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सेना ६ महिनाका लागि निलम्बन

काठमाडौं-नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको एमाले सचिवालय बैठकले पार्टीविरुद्ध गतिविधि गरेको भन्दै पूर्वउपाध्यक्ष रावललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो । 

त्यसैगरी स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पनि पार्टी नीति विपरित सार्वजनिक अभिव्यक्ति दिएको भन्दै ६ महिनाका लागि निलम्बन गर्ने निर्णय बैठकले गरेको छ । 

पूर्वउपाध्यक्ष रावल चितवनमा सम्पन्न १०औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएका थिए ।  तर पराजित भएपछि उनलाई पार्टीले कुनै जिम्मेवारी दिएको थिएन ।

पाण्डे र तिम्सेनालाई पार्टीको निर्देशन अनुसारअघि बढ्नसमेत निर्देशन दिएको छ । पाण्डे र तिम्सेनाले व्यवसायी मीनबहादुर गुरुङले पार्टी भवन बनाउन दिएको जग्गा दानको विषयलाई लिएर नेतृत्वको आलोचना गर्दै आएका थिए । सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक पुस २१ र २२ गते बोलाउने निर्णयसमेत गरेको छ । संविधान संशोधनका लागि दुई दलीय संयन्त्र गठन गर्ने र अन्य राजनीति दलहरुसँग पनि छलफल गरेने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  २२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update