Mero Chitwan
नेपालीलाई यी ४० देशमा चाहिँदैन भिसा [सूचीसहित]

काठमाडौं–नेपाली पासपोर्टको विश्व सूचकांकमा सामान्य सुधार भएको पाइएको छ । हेन्ले पासपोर्ट सूचकांक २०२४ का अनुसार विश्वका झण्डै २ सय मुलुकमध्ये नेपाली पासपोर्ट ९८ औं स्थानमा रहँदै अघिल्लो वर्षको तुलनामा एक अंकले सुधार भएको हो । अघिल्लो वर्ष ९९ औं स्थानमा रहेको हो ।

सन् २०२२ को तुलनामा भने नेपाली पासपोर्टको स्थितिमा राम्रो सुधार भएको थियो । २०२२ मा १ सय ६ औं नम्बरमा रहेकोमा २०२३ मा ९९ औं नम्बरमा उक्लिएको थियो । २०६२÷६३ को दोस्रो जनआन्दोलनपछि नेपाली पासपोर्टको स्थिति लगातार खस्कँदै आएको हो । उक्त समयमा ७६ औं स्थानमा रहेकोमा खस्कँदै गएर २०२१ मा १ सय १० औं नम्बरमा पुगेको थियो । 

विश्वमा सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा भने यसपटक फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेन गरी ६ मुलुक परेका छन्। यी देशको  पासपोर्टबाट विश्वका १ सय ९४ मुलुकमा विना भिसा या एयरपोर्टमै अन अराइभल भिसामार्फत् भ्रमण गर्न सकिन्छ । एसियाली देशका जापान र सिंगापुरले लगातार ५ वर्षदेखि शक्तिशाली पासपोर्टको सूचीमा छन्। दोस्रो नम्बरको शक्तिशाली पासपोर्टमा फिनल्याण्ड, स्वीडेन र दक्षिण कोरिया छन् । यी मुलुकको पासपोर्टबाट १ सय ९३ मुलुकमा विना भिसा जान सकिन्छ भने तेस्रो नम्बरमा अस्ट्रिया, डेनमार्क, आयरल्याण्ड र नेदरल्याण्ड छन्, जसबाट १ सय ९२ मुलुकमा सहज पहुँच छ । 

हेन्ले कम्पनीले कुनै पनि मुलुकको पासपोर्टलाई अन्य मुलुकमा दिइने सहज पहुँचलाई आधार मानेर हरेक वर्ष सूची प्रकाशन गर्दै आएको छ। ९८ औं नम्बरमा परेको नेपालको पासपोर्टबाट ४० मुलुकमा विना भिसा जान सकिन्छ। ९८ औं नम्बरमा नेपालसँगै प्यालेस्टाइन र लिबिया परेका छन् । 

सूचीमा सबैभन्दा पुछारमा अफगानिस्तान छ, जसबाट २८ देशमा विना भिसा जान सकिन्छ भने सूचीका अन्तिम ५ मुलुकमा सिरिया, इराक र पाकिस्तान छन् । 

नेपालीलाई भिसा नचाहिने मुलुक
बोलिभिया, बुरुन्डी, कम्बोडिया, केप भर्डे आइल्याण्ड, कुक आइल्याण्ड, जिबुटी, डोमिनिका, इजिप्ट, गिनी बिसाउ, हैटी, भारत, केन्या, लाओस, मडागास्कर, माल्दिभ्स, मौरीटानिया, माइक्रोनेसिया, मोजाम्बिक, म्यानमार, निउ, पाकिस्तान, फिलिपिन्स, रुवान्डा, पलाउ आइल्याण्ड, समोआ, सेनेगल, सिसिलिस, सिंगापुर, सोमालिया, श्रीलंका, सेन्ट भिन्सेन्ट, तान्जानिया, गाम्बिया, टिमोरलेस्टे र टुभालु
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update