Mero Chitwan
 मानव तस्करबाट म्यानमार पुर्‍याइएका पाँच नेपालीको उद्धार

काठमाडौँ-नेपाली दूतावास, बैंककले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरेको छ ।

उद्धार गरी ‘टाक इमिग्रेसन अफिस’ मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच नेपाली नागरिकमध्ये चार (पुरुष) थाई सरकारी निकाय ‘आइओएम’ थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासहितको सहयोगमा एक साताअघि नेपाल फर्काइएको थियो । एकजना महिलालाई भने मंगलबार नेपाल फर्काइएको दूतावासले जनाएको छ । 

नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो धेरै पैसा कमाउने चाहना राखेर कम्बोडिया, लाओस, म्यानमार र थाइल्याणलगायत वैदेशिक रोजगारीमा नआउन पनि दूतावासले अनुरोध गरेको छ ।

विषेशगरी चिनियाँ र नेपालीको संगठित समूहले साइबर क्षेत्रको रोजगारका लागि थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओसलगायतका देशमा लगेर बन्धक बनाउने गरेको खुलेको हो । परराष्ट्र मन्त्रालयले समेत रोजगारीको प्रलोभनमा परेर आवश्यक जानकारी विनै त्यस्ता देशमा नजान सचेत गराएको छ । 

अनलाइन जुवा खेलाउन तथा साइबर ठगीमा प्रयोग गर्न नेपालीलाई झुक्याएर विदेश लैजाने क्रम अहिले बढेको छ । यहिकारण परराष्ट्र मन्त्रालयले दक्षिण-पूर्वी एसियाका थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओसलगायतका देशमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई सचेत गराउँदै सोमबार यात्रासम्बन्धी सूचना अर्थात् ट्राभल एडभाइजरी जारी गरेको हो।  मन्त्रालयले मानव तस्करको गिरोहले नेपालीलाई ती देशमा लगेर बन्धक बनाएको यात्रामा सचेत गराएको हो । परराष्ट्र मन्त्रालयले दुई वर्षअघि पनि यस्तो ट्राभल एड्भाइजरी जारी गरेको थियो । तर ती देशमा पुग्ने र अलपत्र पर्ने क्रम रोकिएको छैन ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  २२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update