Mero Chitwan
मौसम : बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने

काठमाडौँ- नेपालमा आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले आज देशका धेरै जसो स्थानमा प्रभाव पारेको छ ।

 पश्चिम न्यूनचापीय प्रणालीका कारण आकासमा बादल टम्म लागे पनि वर्षा भने न्यून परेको छ । यद्यपि काठमाडौँ उपत्यकालगायत केही स्थानमा मंगलबार सामान्य वर्षा भएको छ । काठमाडौँमा पनि साँझ सामान्य पानी परेको छ । 

राति पनि खासै वर्षा हुने अवस्था नरहेको तर बदली भएको क्षेत्रको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र हल्का वर्षा गराउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।  भोलिदेखि भने मौसम सुधार हुँदै जाने पनि उनले भने । उनका अनुसार अहिले कर्णाली, गण्डकी र बागमती प्रदेशमा बदली भई बादल लागेको छ । लुम्बिनीमा आंशिक बदली छ । 

 बागमतीमा पहाडी र हिमाली क्षेत्रमा बढी र कोसीको पश्चिम भू–भागमा बादल रहेको अर्यालले राससलाई बताउनुभयो । सुदूरपश्चिममा आंशिकदेखि साधारण बदली रहेको उनले बताए । 

मौसमविद् अर्यालले भने, “खासै पानी परेको देखिँदैन । पश्चिमा गएको २४ घण्टामा डडेलधुरामा नौ मिलिमिटर, दिपायलमा चार मिलिमिटर पानी परेको छ, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र कतैकतै हल्का वर्षा भएको छ । राति पनि हल्का हिमपात र वर्षा हुने देखिएको छ । भोलिदेखि क्रमिक सुधार हुने देखिन्छ ।” बिहीबारसम्म खुल्ने र शुक्रबार रातिदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको पनि उनले बताए। 

 यो बदलीले देशैभरि चिसो भने बढाउने उहाँले बताउनुभयो । “हिउँ परेको ठाउँबाट आउने हावाले चिसो बढाउने हो, जता हावा जान्छ उतै बढी चिसो हुन्छ”, अर्यालले भने । 
 
    उहाँले बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update