भरतपुर : चितवनको भरतपुरमा सम्पन्न प्रथम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२४ को उपाधि बुटबल तेक्वान्दो डोजाङ्गले जितेको छ । बुटबल तेक्वान्दो डोजाङ्गले ५ स्वर्ण, १ रजत र १ कास्यसहित उपाधिसँगै ५० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड प्रमाणसमेत प्राप्त गरेको हो ।
भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना तथा नेपाल तेक्वान्दो संघको प्राविधिक सहयोगमा सञ्चालित प्रयोगितामा चितवनको खैरहनी तेक्वान्दो डोजाङ्ग दोश्रो हुन सफल भएको भरतपुर महानगर खेलकुद विकास समितिका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए ।
खैरहनीले ४ स्वर्ण, ५ रजत र ३ कास्यसहित दोश्रो हुँदै ३० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड तथा प्रमाण प्राप्त गरेको छ । यसैगरी प्रतियोगितामा तेस्रो भएको नेत्रदय तेक्वान्दो डोजाङ्ग बाराले ४ स्वर्ण, १ रजत र २ कास्य हात पारेको छ । उसले २० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड प्रमाणपत्र पाएको छ।
उत्कृष्ट निर्णायक ललितपुरका राजनकुमार श्रेष्ठ, उत्कृष्ट पुरुष खेलाडीमा चितवनका अभिषेक गिरी र उत्कृष्ट महिला खेलाडीमा बुटबलकी अञ्जली चौधरी घोषित भएका छन् । उनीहरुले नगद ५-५ हजार पुरस्कार पाएका छन् । उत्कृष्ट खेलाडीलाई भरतपुर महानगरकी मेयर रेनु दाहालले पुरस्कार प्रदान गरेकी थिइन् ।
सो अवसरमा दाहालले खेल विकासमा भरतपुरको ईतिहासमा नयाँ रेर्कड कायम भएको बताइन् । उनले महानगरले खेलकुदको विकासका लागि विभिन्न गतिविधिहरुलाई निरन्तरता दिदै भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणाधीन, एक वडा एक खेल मैदान निर्माण, कभर्डहल निर्माण लगायतका कामले सबैको ध्यान तानेको बताइन् ।