Mero Chitwan
भरतपुरका पाँच वटा वडा बालमैत्री

चितवन-भरतपुर महानगरपालिका पाँच वडालाई वालमैत्री वडा घोषणा गरिएको छ । महानगर प्रमुख रेनु दाहालले शुक्रबार वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणा गरेसँगै यो सङ्ख्या पाँच पुगेको हो । 

भरतपुर महानगरपालिकाका वडा नम्बर १४, २१, २३ र १३ लाई यस अघिनै बालमैत्री वडा घोषणा गरिएको थियो । २०७६ असार २५ गते भरतपुर महानगरपालिका वडा नम्बर १४ लाई पहिलोपटक बालमैत्री वडा घोषणा गरिएको थियो । आर्थिक वर्ष २०८३÷८४ सम्ममा महानगरपालिकालाई बालमैत्री घोषणा गर्ने उद्देश्यका साथ बालमैत्री वडा घोषणा गरिएको हो ।

 नगरप्रमुख दाहालले महानगरपालिकामा बालमैत्री शासन लागू गर्न र बालश्रम मुक्त वनाउने योजनाका साथ काम भइरहेको बताइन्। सामूहिक एकता र बलले मात्र कामहरु सफल हुने उल्लेख गर्दै उनले घोषणा भईसकपछि यसको कार्यान्वयनमा वडा र टोलबासीको सहयोग अपरिहार्य रहेको बताइन् । बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि महानगरपालिकाले सक्दो प्रयास गरेको उनको भनाइ थियो । 

 बालमैत्री वडा घोषणापछि देखिने चुनौति समाधान गर्न अभिभावकहरुको महत्वपूर्ण भूमिका रहने महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले बताए ।  बाल अधिकार संरक्षणका लागि स्थानीय बाल अधिकार समिति सधै तयार रहेको उनको भनाइ थियो । 

 महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक महाशाखा निर्देशक शान्ताकुमारी पौडेलले बालमैत्री वडा घोषणाका लागि बालमैत्री स्थानीय शासनअन्तर्गत ५१ वटा सूचकाङ्क पूरा गर्नुपर्ने जानकारी दिइन् । स्थानीय बाल अधिकार समितिले यस वर्ष थप दुईवटा वडालई बालमैत्री घोषणा गर्ने तयारी गरिरहेको पनि उनको भनाइ थियो । 

  महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्मा, वडा नम्बर १४ का अध्यक्ष राजेन्द्र शाखी, वडा नम्बर ६ का अध्यक्ष कृष्णलाल श्रेष्ठ, वडा नम्बर ६ का पूर्वअध्यक्ष हरिविलाश कोइराला, नेपाली कांग्रेसका वडा सभापति प्रकाश अधिकारी लगायतले धारणा राखेका थिए। 

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  २२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update