चितवन–दूध बिक्री हुन नसकेको र भुक्तानीसमेत नपाएको भन्दै चितवनका दूग्ध उत्पादक किसानहरुले आन्दोलनको घोषणा गरेका छन्। जिल्ला दुग्ध उत्पादक सहकारी संघले बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेको हो । संघ र प्रदेश सरकारलाई पटक–पटक गुनासो राखे पनि सुनुवाइ नभएपछि आन्दोलनमा जानुपरेको संघले जनाएको हो।
संघले पुस २९ गते भरतपुरमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । त्यसैगरी, माघ १ गते चितवनको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रमा तालाबन्दी गर्ने र माघ २ गते संघीय र प्रदेश कृषिमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम तय भएको संघका सचिव कल्याण अधिकारीले बताए । त्यसपछि पनि सुनुवाइ नभए माघ ३ गते थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघले जनाएको छ।
भारतीय सस्तो उत्पादन खुलमखुला नेपाल भित्रिँदा पनि सरकारले रोक्न पहल नगरेको, प्रदेश सरकारले दिने अनुदान कटौती गर्दै लगेको, बिमा र सहुलियत ऋण नपाएको दुग्ध उत्पादक किसानहरुको गुनासो छ ।
दुग्ध विकास संस्थान (डिडिसी) र अन्य निजी डेरी उद्योगी गरेर चितवनबाट लगभग ३० वटाले दैनिक १ लाख ५१ हजार लिटर दूध किन्ने गरेको दुग्ध उत्पादक सहकारी संघका चितवन अध्यक्ष किशोर बगालेले जानकारी दिए । १५र१५ दिनमा भुक्तानी दिने परिपाटी भए पनि केहीले भदौदेखि नै भुक्तानी रोकेको उनको भनाइ छ । किसानले पाउनुपर्ने २२ करोड रुपैयाँभन्दा बढी रकम नपाएको बगालेले बताए ।