Mero Chitwan
 कुल पूजा र हाम्रो परम्परा 

नेपालमा सबै जाति र परिवारमा कुल देवता मान्ने प्रचलन छ र आ-आफ्नो रीतिरिवाज अनुसार कुल पूजा गर्ने गरिएको छ । सबै जाति र थर गोत्रका व्यक्तिहरूले गर्ने कुल पूजा एकै प्रकारको हुँदैन ।

 यसका अतिरिक्त हाम्रो परम्परामा आफ्ना दिवङ्गत पितृहरूलाई समेत पितृदेव मानेर तिनको निधन भएको तिथिमा पितृकर्म पनि गर्ने गरिन्छ । यसरी पितृकर्म तथा कुल देवताको विशेष र विधिपूर्वक पूजा गर्नुको पछाडि गहिरो रहस्य लुकेको पाइन्छ । कुलदेवताको नियमपूर्वक पूजा गर्न किन आवश्यक मानिन्छ ?

हिन्दू परम्परामा जन्म, मृत्यु, विवाह, व्रतबन्ध आदि माङ्गलिक कार्यमा कुलदेवता स्थानमा गएर तिनको पूजा आराधना गर्ने गरिएको छ । यो प्रचलन आजभोलि बिस्तारै हराउँदै गएको पाइन्छ । यस प्रकारका माङ्गलिक कार्यमा सर्वप्रथम कुलदेवताको मन्दिर/ स्थानमा गएर दर्शन र स्तुति गरेपछि प्रारम्भ गर्न लागेको अनुष्ठान विना विघ्न वाधा सम्पन्न हुने विश्वास गरिन्छ। यतिमात्र होइन हरेक वर्ष एकदिन त्यस्तो पनि दिन आउँछ, जुनदिन टाढा बसेका परिवारका सदस्यहरू भेला भएर संयुक्तरुपमा गोठको पुजा वा दियाली पुजा गर्नकालागि एकै स्थानमा भेला हुने गरिएको छ । जुन व्यक्तिलाई आफ्नो कुल देवताको बारेमा जानकारी छैन वा जानकारी हुँदाहुँदै पनि थाहा छैन भन्छ भने उसलाई कुलदेवताका कारण अनिष्ट हुन्छ भन्ने मान्यता रहि आएको छ ।

कुल देवता सबैका अलग-अलग किन हुन्छन् ? यसको उत्तर स्वाभाविक छ, हरेक कुल अलग हुन्छन् र त कुलदेवी-देवता पनि अलग-अलग हुने गर्दछन् । हजारौं वर्षदेखि आफ्नो कुललाई संगठित गर्ने र इतिहासलाई संरक्षित गर्नका लागि कुल देवतालाई एक निश्‍चित स्थानमा स्थापना गर्ने चलन छ । त्यही स्थानलाई त्यस कुलवंशको मूल स्थान मानिन्छ । 

मान्छेहरू सुख सुविधा खोज्दै जाने क्रममा गाउँबाट शहर पलायन हुन थाले । केही वर्ष अघिसम्म कुलवंशका सम्पूर्ण सदस्यहरूको सहभागितामा सम्पन्न हुने गरेको कुल पुजा यत्रतत्र हुन थाल्यो । यही सिलसिलाले निरन्तरता लिने क्रममा मान्छे औपचारिक रुपममै तेस्रो मुलुक जान थालेपछि कुलवंशका सदस्यमात्र होइन एउटै परिवारका सदस्यहरू पनि छरपस्ट हुन थालेका छन् । 

सनातन परम्परामा आत्मा, पुनर्जन्म र पितृहरू मान्ने प्रचलन रहेकोले कुल पूजा परम्परालाई यथावत राखिरहेमा देवता, पितृ खुशी भएर आशिर्वाद दिन्छन् भन्ने विश्वाश सबैले गर्ने गरेको पाइन्छ ।
 

कुल देवताले व्यक्तिलाई पूर्वजहरूसँग जोड्ने मात्र काम गर्दैन, वर्तमान जिउँदा कुल खानदानका हजारौं अपरिचित वंशका सदस्यहरूलाई पनि जोड्ने काम गर्छ । यसैले कुल पुजा परम्पराले विशेष महत्व राख्ने गरेको छ । यसबाट आफ्नो वंशवृक्षसँग जोडिन पाइन्छ । सनातन परम्परामा आत्मा, पुनर्जन्म र पितृहरू मान्ने प्रचलन रहेकोले कुल पूजा परम्परालाई यथावत राखिरहेमा देवता, पितृ खुशी भएर आशिर्वाद दिन्छन् भन्ने विश्वाश सबैले गर्ने गरेको पाइन्छ ।
 
हरेक जाति र वर्गका मान्छेहरू, कुनै न कुनै ऋषिका सन्तान हुन् । तिनै मूल ऋषिसँग उत्पन्न व्यक्तित्वहरूलाई तिनैका पछिल्ला पुस्ताले ऋषि या ऋषि पत्नीलाई कुलदेव कुलदेवीको रूपमा पूज्य मान्ने गरेको पाइन्छ । कुल देवता, कुल या वंशको रक्षक मानिन्छन् । यिनलाई घर-परिवार या वंश-परम्पराको प्रथम पूज्य तथा मूल अधिकारी देवता मान्ने गरिएको छ । कुलदेवताको गणना घरको जेष्ठ सदस्यलाई माने जस्तै मान्ने गरिन्छ । अत: प्रत्येक धार्मिक अनुष्ठान सञ्चालन गर्दा कुलदेवतालाई सम्झनुपर्छ ।

कुलदेवताको प्रभाव यति महत्वपूर्ण मानिन्छ कि यदि कुलदेवता रुष्ट भए भने हनुमानजीले बाहेक अन्य कुनै देवी या देवताले यिनको दुष्प्रभाव या हानी कम गर्न र रोक्न सक्दैनन् भनिन्छ । यसलाई यसरी बुझ्न सकिन्छ, घरमा वृद्ध माता पिता असन्तुष्ट हुँदा छिमेकको कुनै व्यक्तिले हस्तक्षेप गर्न मिल्दैन । उनीहरू बाहिरका मानिन्छन् । त्यसरी नै कुलदेवता रुष्ट हुँदा अन्य देवताको पुजा आराधाना गरेर हुँदैन । कुल देवतालाई नै खुशी पार्नुपर्छ । 

हाम्रो सनातनी पद्धतिले दिवङ्गत पूर्वजहरूको आत्माले सबै देखिरहेको हुन्छ भन्ने गरिन्छ । अत: देवता र पितृहरूको अपमान गर्ने हो भने तिनले श्राप दिन्छन् । देवता पितृको श्रापबाट मुक्त हुन परम्परा त्याग्नु र बङ्ग्याउनु हुँदैन ।

कुल देवताको पूजा कहिलेबाट गर्न थालियो, यसको ठोस उत्तर नपाइए पनि पौराणिक ग्रन्थहरूमा यसको उल्लेख भएकोले कुल पूजा परम्परा निकै पुरानो परम्परा हो भनेर अनुमान गर्न सकिन्छ । 

 

कुलदेवता मानेर पुजा गर्ने प्रचलन केही वर्ष यता आरम्भ गरिएको प्रथा होइन । यस प्रकारको प्रचलन सदियौंदेखि चलिआएको मानिन्छ । कुल देवताको पूजा कहिलेबाट गर्न थालियो, यसको ठोस उत्तर नपाइए पनि पौराणिक ग्रन्थहरूमा यसको उल्लेख भएकोले कुल पूजा परम्परा निकै पुरानो परम्परा हो भनेर अनुमान गर्न सकिन्छ । कुल पूजा परम्परा र यसको पूजा-अर्चना विधान वैदिक कालमा विकसित भएको पाइन्छ। देवी भागवतमा दशरथ पुत्र रामको जन्म भएको खुशीयालीमा रघु कुलका सदस्यहरूले कुलदेवी देवकाली (महाकाली,महालक्ष्मी महासरस्वती) माताको दर्शन गरेको उल्लेख गरिएको छ । यसैगरी द्वापर युगमा पाण्डवहरूकी कुल देवी योगमाया हुन् भनेर उल्लेख गरिएको पाइन्छ ।

हिन्दू पारिवारिक श्रृंखलामा प्रत्येक हिन्दू परिवार कुनै न कुनै ऋषिका वंशज भएको पुष्टि गरिएको छ । जसबाट उनीहरूको गोत्र थाहा पाउन सकिन्छ । मध्यकाल भन्दा अघिसम्म वर्तमान समयमा जस्तै व्यक्तिको पहिचान थरबाट होइन गोत्रबाट गरिन्थ्यो । मध्यकालको अन्त्यतिर व्यक्तिलाई उसले गर्नेगरेको कर्मको आधारमा जातिप्रथाको व्यवस्था गरिएको र व्यक्तिको पहिचान गोत्र र जातिको आधारमा गर्न थालिएको कुरा मध्यकालीन इतिहासहरूमा उल्लेख गरिएको पाइन्छ ।

उहिले हाम्रा कुल पुर्खाहरूले आफ्नो गोत्रलाई विभिन्न दृष्टिकोणबाट मेलखाने गरि आफ्नो गोत्रका लागि उपयुक्त कुल देवताको छनोट गरी तिनको पूजा गर्न आरम्भ गरेको विश्वास गरिन्छ । यसरी पूजा गर्दा पारलौकिक शक्तिबाट कुलको रक्षा हुने, कुलका सदस्यहरूको बिना अवरोध उन्नति प्रगति हुने र कुलले समृद्धि हासिल गर्ने विश्वास गरिन्थ्यो भने यो विश्वास आजसम्म पनि कायम छ ।

रितीरिवाज चालचलन र परम्पराको मामलामा हामी निकै सम्पन्न छौं । विभिन्न मौसमी चाडपर्व र कुल पूजा गर्ने नेपालीहरुको पुरानै प्रचलन रहिआएको छ। परिवार , समाज र सिङ्गो मुलुकलाई यिनै संस्कृति, परम्परा, चलनचल्ती, आस्था र विश्वासले एक सूत्रमा बाँधेर राखेको छ । यो एउटा यस्तो शृंखला हो, जसले हाम्रा पुर्खाहरूबाट सुरु भएको जीवनशैली हामीसम्म ल्याइदिने गरेको छ । हामीले यिनै परम्परा आफ्ना सन्तानहरूलाई हस्तान्तरण गर्दै जान्छौं, जसरी हाम्रा पुर्खाहरूले हामीलाई हस्तान्तरण गरेका थिए । परम्पराहरूले हाम्रो सामाजिक, सांस्कृतिक र नैतिक मूल्यहरूको रक्षात्मक भूमिका निर्वाह गर्छन्, जसले परिवार, समाज र गाउँ शहरमा शान्ति, सद्भाव र एकता कायम राख्न मद्दत पुर्‍याउँछ ।

परम्पराको इतिहास मानव सभ्यताको आरम्भसँगै जोडिएको छ। जब मानव समुदायले आफ्नो अस्तित्वका लागि विभिन्न क्रियाकलापहरू सुरु गर्‍यो, तब ती क्रियाकलापहरूको निरन्तरता नै परम्पराको रूपमा विकसित भयो। प्रारम्भमा मानिसहरू आफ्ना अनुभव र परीक्षणहरूबाट सिके, र तिनै ज्ञान र सीपलाई भावी पुस्तालाई सिकाउने क्रम चल्यो। यसरी परम्पराहरू एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै गए। परम्पराहरूको विकास वातावरण, भौगोलिक स्थिति, सांस्कृतिक आदान-प्रदान र समयको गतिसँगै फरक-फरक रूपमा हुँदै गयो। हरेक राष्ट्र, समुदाय वा समूहको आफ्नै विशेष परम्परा हुन्छ, जुन उनीहरूको जीवनशैली र पहिचानसँग गहिरो सम्बन्ध राख्छ।

त्यसमध्ये यहाँ कुल पूजाका सम्बन्धमा केही चर्चा गर्ने प्रयास गरिएको छ । हरेक जात जातीको कुलका देवतालाई पुज्ने आफ्नै शैली हुन्छ । त्यो शैली कि बुढापाकहरूलाई थाहा हुन्छ कि आदि भूमिमा बसोबास गर्नेलाई बढी जानकारी हुन्छ, धामी परम्परा भएको कुलमा निराकार ऊर्जा जागृत हुने धामीलाई जानकारी  हुनसक्छ। कि पुजारीलाई कुलको पूजा विधि थाहा हुनसक्छ । जाने बुझेका व्यक्तिहरूसँग सिकेर कुल पूजालाई निरन्तरता दिनुपर्छ ।

कुल पूजा कहिले गर्ने, कसरी गर्ने भन्ने कुरा एकदम निश्चित र पूर्व निर्धारित भएको हुन्छ । पुर्खाले पूजा गर्ने गरेको समय र विधि परिवर्तन गर्नु हुँदैन । जुठो सुतक परेको समयमा बाहेक तिथिमिति परिवर्तन गर्नु पारम्परिक अनुशासन तोड्नुसरह मानिन्छ । जुन तिथिमितिमा पुर्खाले कुल पूजा गर्ने गरेका थिए, त्यो तिथिमिति उनीहरूले कुनै विशेष कारणले छनोट गरेको तिथि हो ।  संयोगवश महिना परिवर्तन गरिए पनि तिथि परिवर्तन गर्नु हुँदैन भनिएको छ ।

कुलदेवताको पूजामा परम्परा र पारिवारिक संस्कार प्रति अत्यन्त संवेदनशील हुनुपर्छ । उल्टोपाल्टो पूजा पद्धति, विधि मिचेर गरिएको पूजा विधि र क्रियाकलापले कुलदेवता रुष्ट हुन्छन् । सामान्यतया कुल पूजा वर्षमा एक पटक अथवा दुईपटक निश्चित समयमा हुने गर्दछ । यो संख्या कसैको देखासिकी गरेर वा हचुवाका भरमा परिवर्तन गर्नु हुँदैन । आफ्नो पुरानो परम्पराले एक पटक मात्र गर्ने गरेको छ भने एकपटक मात्र र दुईपटक गर्ने गरेको भए दुई पटक नै गर्नुपर्छ । अधिकांश थरको कुल पूजाको अघिल्लो दिन कपाल खौरिएर, स्नान गरी, एक छाक खाएर चोखो वस्त्र धारण गरेर भोलिपल्ट पूजा गर्ने प्रचलन छ । 

कुलदेवताको पूजामा परम्परा र पारिवारिक संस्कार प्रति अत्यन्त संवेदनशील हुनुपर्छ । उल्टोपाल्टो पूजा पद्धति, विधि मिचेर गरिएको पूजा विधि र क्रियाकलापले कुलदेवता रुष्ट हुन्छन् ।

 

कुनै वंशको वर्षमा तीनपटक पनि कुल पूजा गर्ने गरेको पाइन्छ । यस सम्बन्धि कतै लिखित प्रमाण पाइदैन यसलाई पुरानो र मान्ने गरिएको पारिवारिक परम्परानुसार सम्पन्न गर्नुपर्छ । पूजासम्बन्धी हरेक परिवार र कुलको भिन्न तर विशिष्ट पद्धति हुन्छ । विवाह, ब्रतबन्ध सन्तानोत्पत्तिका समयमा कुलदेवतालाई विशेष पूजा गर्ने गरिन्छ । 

 हाम्रो धर्म संस्कारमा असोज महिनामा गरिने पितृहरूको सोह्र श्राद्धको तर्पण कार्य दशैँको तयारी गर्न गाह्रो हुन्छ, यसबेला पर्याप्त समय दिन सकिँदैन भन्दै अन्य महिनामा सार्ने गरिएको छैन । सोह्र श्राद्ध निश्चित समयमा गर्ने गरिएको छ । किनभने आफूखुसी सोह्र श्राद्धको तिथिमिति र समय परिवर्तन गर्दा पितृ असन्तुष्ट हुन्छन्, पितृले श्राप दिन्छन् र कुलमा अनिष्ट हुन्छ भन्ने मान्यताले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तर कुल र पितृ खुशी पार्ने सबैभन्दा ठूलो र महत्वपूर्ण अनुष्ठान कुल पूजामा भने हामी अलि बढी आधुनिक बन्दै गएका छौं । कुल पूजा भनेको इष्टमित्र जम्मा गरेर गरिने विवाह भोज र भोज उत्सव होइन । कुल पूजामा पहिलो प्राथमिकता कुलदेवताको पूजा विधिलाई दिनुपर्छ, परम्परालाई दिनुपर्छ । कुल पूजा गर्ने तिथिमिति र स्थानलाई दिनुपर्छ । 

देवता भनेका पनि पितृ सरह मान्नु पर्ने भएकोले देवताको पूजा तिथि किन परिवर्तन गर्ने ? कुलपूजाको पनि निश्चित समय तोकिएको हुन्छ । त्यसैले कुल पूजा छेकथुन पर्न गएको समयमा बाहेक तोकिएकै समयमा र तोकिएकै विधि अनुसार सम्पन्न गर्नुपर्छ भन्ने पुरानो मान्यता रहिआएको छ । 

सम्बन्धित कुलवंशका सदस्यहरूले तोकिएको समयमा पूजा गर्नु पर्ने र पुरानो परम्परा कायम गर्नुपर्ने कुरालाई कुलको अलिखित संविधान सम्झनुपर्छ । देशको संविधान माने जस्तै कुलवंशका सदस्यहरूले आफ्नो कुलको परम्परालाई कुलवंशको संविधान मान्नु पर्छ । फरक यतिमात्र हो, मुलुकको संविधान लिखित हुन्छ कुलवंशको संविधान अलिखित हुन्छ । तर पनि सबै सदस्यहरूले अनुशासनमा भने रहनैपर्छ । संविधान नमाने अनुशासनहिन भइन्छ । मुलुकको संविधान कसैको रहरले परिवर्तन गर्न सकिँदैन । संविधान परिवर्तन गर्न सोही अनुरूप विधिमा टेक्नुपर्छ । त्यसैगरि कुलवंशको संविधान पनि परिवर्तन गरिरहने कुरा होइन ।

धनसम्पत्ति हराए पुनः कमाउन सकिन्छ तर समाज र परिवारबाट हराएको अनुशासनले मान्छेलाई छाडा बनाइदिन्छ । अनुशासन नभएको परिवारमा उन्नतिको आशा गर्न सकिँदैन ।

हरेकका कुल परम्परामा अनेकौं नीति, नियम र विधानहरू पाइन्छन् । गाइ भैंसी चोख्याउने, खीर खान हुने या नहुने, धुप धुवाँर गर्ने, कसरी गर्ने, गोरसको प्रयोग गर्नेदेखि लिएर अन्य धेरै रितिरिवाजहरू समावेश हुन्छन् । अत: यस सम्बन्धि नीति र नियमहरू कुनैपनि अवस्थामा परिवर्तन गर्नु हुँदैन । 

आफ्नो परम्परा निर्वाह गर्दा समाजको अगाडि पछौटे बनेर हिँड्नुपर्ने र निर्घिणी हुनुपर्ने विधि सायद कसैको कुल परम्परामा पनि समावेश छैन ।

 

आफ्नो कुलदेवतालाई सन्तुष्ट बनाउँदा र पारम्परिक संस्कार सम्पन्न गर्दा हामी पाखे र गँवार हुँदैनौं । आफ्नो परम्परा निर्वाह गर्दा समाजको अगाडि पछौटे बनेर हिँड्नुपर्ने र निर्घिणी हुनुपर्ने विधि सायद कसैको कुल परम्परामा पनि समावेश छैन । हामी आफूलाई मात्र सभ्य र संस्कारी भनिरहँदा हाम्रा पुर्खा, हामीभन्दा अझै सभ्य थिए भन्ने हामी भुसुक्कै बिर्सन्छौँ । उनीहरूले अवश्य पनि समाजमा पाच्य हुने संस्कारको थालनी गरेको हुनुपर्दछ । पुर्खाले चलाएको संस्कार र परम्परा मान्दा हाम्रो इज्जत जाँदैन उल्टै बढोत्तरी हुन्छ ।

यस प्रकारका कुल परम्परा कायम राखिराख्न हामीलाई छुट्टै जनशक्ति पनि चाँहिदैन । थप आर्थिक व्ययभार पनि वहन गर्नु पर्दैन । आखिर पुर्खाको मौलिक प्रचलन धान्न हामीलाई केले छेकेको छ ? बरु यिनै परम्पराहरूले हामीलाई थप मेहनती बनाइदिन्छन्, परिश्रमी बनाइदिन्छन् । 

कुल परम्परामा चलिआएको कुल पूजा नगरी आफ्नै पाराले र जसलाई जे मन लाग्छ त्यसरी नै पूजा गरे कुल देवता रुष्ट हुन्छन् । कुल वंशमा कलह उत्पन्न हुन्छ । चाहेजस्तै सन्तानको जन्म हुँदैन । चिताएको कुरा पुग्दैन । मन अशान्त हुन्छ । परिवारमा क्लेश आउँछ । कुलको उन्नति र प्रगतिमा रोकावट आउँछ । कुलवंश भित्र अकाल मृत्यु र बाल मृत्यु हुन्छ । कहिले नघटेका र अस्वाभाविक घटना र दुर्घटनाहरू हुनसक्छन् । हाम्रो परम्परा र धार्मिक मान्यताले यस्तै भनेको छ ।

आचारो विनयो विद्या प्रतिष्ठा तीर्थदर्शनम्
निष्ठा वृत्ति स्तपो दानं नवधा कुल लक्षणम्

अर्थात् , कुलको उन्नतिका लागि कुलवंशहरूमा सदाचार, विनय, विद्या, प्रतिष्ठा, तीर्थ दर्शन, निष्ठा, वृत्ति, तप, दान समेत नौ लक्षण हुनु पर्दछ भनेर शास्त्रमा बताइएको छ ।

यी लक्षणमध्ये हामीसँग कति लक्षण छन् ? कहिलेकाहीँ यस विषयमा चिन्तन गर्नु जरुरी छ । हाम्रो परम्पराले जाँड, रक्सी, माछा, मासु नखाउ भन्छ भने हामी आधुनिक बन्ने बहानामा पुरातन संस्कार मानिदैन भनिदिन्छौं । तिनै वस्तु डाक्टरले चेतावनी दिएर खानु हुन्न भने भोलिपल्टदेखि नै हामी त्याग्न सक्छौं । याद गरौँ , कसैको पनि कुल परम्पराले अवैज्ञानिक निर्देशन दिएको छैन । खानपानदेखि लिएर अन्य गर्न हुने वा नहुने जतिपनि पुराना संस्कार मान्ने हो भने मान्छे निरोगी हुन्छ । शारीरिक कसरत पर्याप्त पुग्छ र व्यक्ति अनुशासित बन्छन् । 

 आफ्नो कुलको परम्परामा बलिदिने प्रचलन छ भने निर्धक्कसँग बलिदिनु पर्छ । बलि प्रथाको आफ्नो छुट्टै महत्व हुन्छ । कुल पूजागर्दा बलिदिने प्रचलन छ भने मांस सेवन नगर्नेहरूले पनि बलि दिनुपर्छ । बलि भनेको भोजन तयार गर्ने कुरालाई आधार मानेर बलिदिने होइन र बलि आफ्नो लागि दिइने वस्तु होइन । बलि, कुलदेवतालाई दिने हो । कुलदेवतालाई बलि दिँदैमा मांस सेवन गर्नुपर्छ भन्ने पनि छैन । बलि दिएको वस्तुलाई सुरक्षितसँग बिसर्जन गर्न सकिन्छ । मांस सेवन गर्ने अन्य आफन्त, छरछिमेक र भाइ खलकका सदस्यलाई कुल देवताको प्रसादको रूपमा वितरण गर्न सकिन्छ । तर आफ्नै परम्परालाई तथानाम उँडाउने खिसीगर्ने काम निन्दनीय मानिन्छ । होइन कुल परम्परामा बलि प्रथा प्रचलनमा छैन भने बलि दिनु आवश्यक मानिदैन र दिनु पनि हुँदैन । होइन बोकाको बलि दिएर मासु भात खान मजै हुन्छ भन्ने सोचले बलि नदिने परम्परामा बलिदिन आरम्भ गरेर प्रचलन मिच्नु पनि हुँदैन । वंश परम्पराले के भनेको छ ? के गर्ने गरेको छ त्यसलाई मुख्य आधार मानेर कुल परम्परा धानिराख्नु पर्छ ।

बोकाको बलिदिने प्रचलनलाई लत्याएर खसी काट्ने, माछा मासु सहितको भोज गर्ने, अपेय पदार्थको सेवन गर्ने, कुल पूजालाई बनभोज र पिकनिकको रूप दिने कार्य अत्यन्त निन्दनीय कार्य मानिन्छन् । यस्तो कार्यको सुरूवात र निरन्तरतालाई कुल देवता रुष्ट हुने प्रमुख कारण मान्न सकिन्छ । 

 हाम्रा पूर्वजहरूले कुल पूजाको आरम्भ गर्दा , तिथिमिति तोक्दा, पूजासम्बन्धी विशेष विधान बनाउँदा र परिवर्तन गर्दा सबै हचुवाको भरमा गरेका अवश्य थिएनन् । त्यो तिथि र विधि समावेश हुनमा कुल स्थापना दिवस, कुल घोषणा दिवस, कुलदेवताले विशेष वरदान दिएको दिन वा यस्तै अन्य महत्वपूर्ण कारणहरू हुन सक्छन् ।

कुल देवता भनेका त्यस्तो सुरक्षा कवच हुन् जसले कुनै पनि वाह्य बाधा, नकारात्मक ऊर्जाबाट परिवारलाई जोगाउँछ । पारिवारिक संस्कार र नैतिक आचरण प्रति समय छँदै सचेत रहनुपर्छ । त्यसैले कुल पूजा तोकिएको तिथि र तोकिएको विधि अपनाएर मात्र सम्पन्न गर्नुपर्छ । कुल पूजा भनेको कुलवंश सम्पन भएको प्रदर्शन गर्ने वा निर्धन हुँदा चन्दा माग्ने परम्परा होइन । यो त आफ्नो वंशका देवता र कुलका आदि पुरुषको सम्झना गर्दै श्रद्धापूर्वक पूजा अर्चना गर्ने परम्परा हो ।

(लेखक विश्व हिन्दु महासंघ, नारायणीका सचिव हुनुहुन्छ)
 

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update