Mero Chitwan
सुर्खेतमा कोइला बालेर सुतेका आमा र छोराको मृत्यु, छोरीको उपचार हुँदै 

सुर्खेत-सुर्खेतको वीरेन्द्रनगरमा कोठाभित्र कोइला बालेर सुतेका आमा र छोराको मृत्यु भएको छ । घटनामा छाेरी घाइते भएकी छन् । वीरेन्द्रनगर–४ भैरवस्थानको समावेशी टोलमा कोईला बालेर सुतेका आमा, छोरा र छोरीमध्ये आमा र छोराको निस्सासिएर मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३० वर्षीय देवीसरा थापा घर्ती र ६ वर्षीय छोरा रियान घर्ती छन् । गम्भीर घाइते नौ वर्षीय रिया घर्तीको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ  

बुधबार राति खाना खाएर सुतेका तीन जना विहान अबेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । प्रहरी पुगेर ढोका फोडेर उनीहरुलाई तत्कालै अस्पताल पुर्‍याइएको थियो । तर चिकित्सकले आमा र छोरालाई मृत घोषणा गरेका थिए । उनीहरु सुतेको कोठामा झ्याल लगाइएको र तसलामा कोईला बलिरहेको अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।

कोठामा कोईला बाल्दा कार्बनमोनोअक्साइड ग्यास भरिएको र अक्सिजनको मात्रा कम भएकाले निसास्सिएर नै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update