Mero Chitwan
उमागौरी सहकारी ठगी : २५ फरार प्रतिवादीलाई ३५ दिनभित्र उपस्थित हुन मोरङ अदालतको आदेश

विराटनगर । मोरङको धनपालथान गाउँपालिकास्थति उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित फरार २५ जनालाई अदालतमा उपस्थित हुन म्याद जारी भएको छ ।

मुद्दा चलेका तर फरार रहेका कोइरालासहितका २५ जनालाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन म्याद जारी भएको हो। मोरङ जिल्ला अदालतले ठगी प्रकरणका फरार प्रतिवादी रंगेली नगरपालिका- २ का वडाध्यक्ष सन्तलाल खवासलाई पनि अदालतले ३५ दिनभित्र उपस्थित हुन भनेको छ ।

जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले मुलुकी फौजदारी अपराधसंहिता २०७४ को दफा ५७ बमोजिम अदालतले सो आदेश जारी गरेको बताए । मुद्दामा प्रतिवादी बनाएका रोशन राजवंशी भने पूर्पक्षका लागि थुनामा छन् । उनी धनपालथान गाउँपालिका ४ का पूर्ववडाध्यक्ष हुन् । मंसिर २७ गते लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

फरार प्रतिवादी रंगेली नगरपालिका - २ का वडाध्यक्ष संतलाल खवास सहकारीका पूर्वउपाध्यक्ष हुन् । २०७९ सालको निर्वाचनमा खवास नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए । लेखासमिति सभापति पोखरेलकी श्रीमती कोइराला सहकारीको पूर्वसञ्चालक रहेको २०७८ माघ ५ गते राजीनामा गरेको भेटिएको छ ।

सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि डेढ वर्षयता सहकारी बन्द छ । ठगी मुद्दामा प्रतिवादी बनाइएका २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ । अभिलेखअनुसार ७ सय ७ जना ऋणीले सहकारीबाट २४ करोड ३० लाख ऋण लिएकोमा हालसम्म ८ करोड १३ लाख ऋण उठेको र १६ करोड १६ लाख बाँकी छ ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  २२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update