Mero Chitwan
सूर्यदर्शन सहकारी ठगी प्रकरण : के छ प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा ?

काठमाडौं-पोखराको सूर्यदर्शन सहकारीको रकम अपलचनमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले झन्डै तीन महिना लगाएर गरेको अनुसन्धानपछि रायसहितको प्रतिवेदन जिल्ला सरकरी वकिल कार्यालयलाई बुझाएको छ ।

सहकारीको १ अर्ब २४ करोड हिनामिना भएको प्रतिवेदन बुझाएको प्रहरीले रास्वपाका सभापति रवि लामिछानेमाथि झन्डै २८ करोडको सम्पत्ति शुद्धीकरणको मुद्दा सिफारिस गरेको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा असोज ६ गते पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरेर दोस्रो चरणको अनुसन्धान गरेको कास्की प्रहरीले ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिएको छ । यो प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए ।

सहकारीको रकम अपचलनमा प्रत्यक्ष संलग्न रहेका ३२ जनालाई पक्राउ गरेर अभियोजन लगाउनुपर्ने निष्कर्ष प्रहरीले निकालेको छ । प्रहरीले अन्य १९ जनाबाट भने सम्पत्ति जफत गर्नुपर्ने अनुसन्धान प्रतिवेदन बुझाएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ । 

दुई महिना लामो अनुसन्धानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित ८ जना हिरासतमा छन् । पूर्वडीआईजी जोशी, लिला पछाइ, रामबहादुर खनाल, देवकुमार नेपाली, ओमप्रकाश गुरुङ, लिलाबहादुर गुरुङ र कृष्णबहादुर गुरुङ प्रहरी हिरासतमा छन् ।

सहकारीको रकम १ अर्ब २४ करोड ५६ लाख हिनामिना भएको प्रहरीको निष्कर्ष छ । त्यही पैसाले ३२ वटा कम्पनीमा लगानी गरेको देखिएको छ । सहकारीको रकममा लामिछानेमाथि ३ करोड ३७ लाख बिगो माग गर्नुपर्ने राय प्रहरीको छ । 

लामिछानेले सहकारीकै रकमबाट अन्य स्थानमा कारोबार गरेको २७ करोड ९९ लाख सम्पत्ति शुद्धीकण गरेको राय प्रहरीले दिएको छ । लामिछानेमाथि सहकारी ठगी, संगठित अपराधको कसुरमा मुद्धाका लागि प्रहरीले प्रतिवेदन दिएको हो । 

त्यस्तै लामिछाने र उनकी श्रीमती निकिता पौडेलको नाममा १८ वटा बैंक खाता रहेको र २०६९ भदौ २४ देखि २०८१ मंसिर १० गतेसम्म २८ करोड कारोबार भएको देखिएको छ । 

२०७८ साल कात्तिक २३ गतेदेखि २०८१ साउन १४ गतेसम्म लामिछानेले १ करोड २७ लाख रुपैयाँ अमेरिकास्थित लाओ एसिया प्यासेफिक स्याटलाइट कम्पनीमा बुझाएको देखिएको छ । रविकै श्रीमती निकिताको सम्पत्ति पनि जफत गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै सहरकारी ठगीका मुख्य आरोपी जीबी राईविरुद्ध सम्पत्ति शुद्धीकरणमा मात्रै १ अर्ब ८६ करोडको बिगो माग दाबीका लागि प्रहरीले राय दिएको छ । जीवीलाई राष्ट्रबैंकसम्बन्धी कसुर र संगठित अपराधमा पनि मुद्धाका लागि प्रहरीले सिफारिस गरेको छ । पूर्वडीआईजी जोशीको ७४ करोड सम्पत्ति शुद्धीकरणमा जाने देखिएको छ ।

छविलालकी श्रीमती र छोराको नाममा रहेको सम्पत्ति जफतका लागि राय दिइएको छ । सूर्यदर्शन सहकारीको अनुसन्धान सकिएपछि अब यो मुद्दा यसै साता अदालतमा प्रवेश गर्ने छ । योसँगै चितवन, पर्सा, काठमाडौं, बुटवलको अनुसन्धान जारी नै छ । यी जिल्लामा पनि प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  २२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update