
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पाँच रनले हराएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सुदूरपश्चिमले दिएकोे एक सय ५४ रन लक्ष्य पछ्याएको पोखराले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनमा समेटियो ।
पोखराका लागि एन्ड्रिज गौसले सर्वाधिक ३६ रन बनाए । उनले २१ बलमा दुई छक्का र चार चौकाको मद्दतले ३६ रन बनाएका हुन्् । त्यस्तै, रेमन रेफरले ३३, किरण ठगुन्नाले ३२, दिनेश खरेलले १५ र जेन मलिकले १० रन बनाए ।
पोखराका लागि माइकल लिस्कले पाँच, सागर ढकाल र दिलीप नाथले समान एक÷एक रन जोडे । यो खेलमा पोखराले अतिरिक्त १५ रन पाएको छ ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्गेलिजनले सर्वाधिक पाँच विकेट लिए । हरमित सिंहले तीन र सैफ जैबले एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो । योसँगै सुदूरपश्चिम रोयल्स एनपिएलको ‘प्लेअफ’ चरणमा प्रवेश गरेको छ ।
विराटनगरमाथि काठमाडौँ एक विकेटले विजयी,प्लेअफ सम्भावनालाई जिवितै
जारी नेपाल प्रिमियर लिग (एनपिएल) को आइतबारको पहिलो खेलमा काठमाडौँ गुर्खाजले विराटनगर किङ्ग्सलाई एक विकेटले हराएको छ । विराटनगरमाथिको जितसँगै काठमाडौंले प्लेअफ सम्भावनालाई जिवितै राखेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विराटनगरले दिएको एक सय १८ रनको लक्ष्य काठमाडौँले १८ दशमलव एक ओभरमा नौ विकेट गुमाउँदै पूरा गर्यो ।
काठमाडौँका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । उनले ३४ बलमा दुई छक्का र दुई चौकाको मद्दतले ३९ रन बनाएका हुन् । शङ्कर रानाले अविजित रहँदै १६, रासिद खानले १४, गेर्हार्ड इरास्मसले १२, दिपेश कँडेलले अविजित ११ र माइकल लेविट १० रनको योगदान दिए ।
यस्तै, काठमाडौँको लागि शाहब आलमले दुई रन जोड्दा स्टीफन एस्किनाजी, भीम सार्की र डेन डउथवेटले समान एक/एक रन बनाए । काठमाडौँले अतिरिक्त १३ रन प्राप्त गर्यो ।
बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट हात पारे । यस्तै, क्रिस सोल, बसिर अहमद र अनिल खरेलले समान दुई/दुई विकेट हात पारे ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर एक सय १७ रन बनाएको थियो । विराटनगरको लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए । उनले २१ बलमा एक छक्का र एक चौकाप्रहार गर्दै २५ रन बनाएका हुन् । यस्तै, दिपक बोहराले २०, स्कट एडवर्ड्सले १५, बसिर अहमदले १३ र निकोलस किर्टनले १२ रन जोडे ।
विराटनगरका लागि लोकेश बमले ८, सुवास भण्डारीले ६, इस्मत आलमले ५ र क्रिस सोलले एक रनको योगदान दिए । विराटनगरले अतिरिक्त १२ रन प्राप्त गर्यो ।
बलिङतर्फ काठमाडौँको लागि गेर्हार्ड इरास्मसले सर्वाधिक ३ विकेट हात पारे । यस्तै, दिपेश कँडेलले २ विकेट लिँदा कप्तान करण केसी, शाहब आलम र डेन डउथवेटले एक/एक विकेट लिएका थिए ।