काठमाडौँ-जनकपुर बोल्ट्समाथि ३२ रनको जितसँगै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा दाबेदारी प्रस्तुत गरेको छ ।
जनकपुरका जिम्मी निशमले २४ बलमा ६५ रन बनाए पनि १ सय ८१ रनको लक्ष्य लिएर आएको जनकपुर १८ ओभरमा १ सय ४८ रनमा अलआउट भयो ।
समूह चरणका सबै ७ खेल खेलिसकेको चितवनको ८ अंक रहेको छ । १० अंकसहित पहिलो स्थानमा रहेर प्लेअफमा स्थान निश्चित गरिसकेको जनकपुरले क्वालिफायर्स १ मा पुग्ने मौका तत्काललाई गुमाएको छ । यो सम्भावनाका लागि जनकपुरले अब अरु टोलीको नतिजामा भर पर्नु पर्ने हुन्छ ।
सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र चितवनको समान ८ अंकसहित क्रमशः दोस्रो देखि चौथो स्थानमा छन् । काठमान्डु गुर्खाज ६ अंकसहित पाँचौं स्थानमा छ । चितवनको यस विजयले विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्लेअफको औपचारिक दौडबाट बाहिरिएका छन् ।
निशमले १८ बलमै अर्धशतक बनाएका थिए । उनी २१ बलमा ५८ रनमा हुँदा सोहेल तनवीरको बललाई क्याच दिन पुगेका थिए । तर तनवीरको ओभर स्टेप भएकाले नो बल रहेका कारण पेभेलियन तिर गइरहेका निशम पुनः क्रिजमा आएका थिए । फ्रि हिटमा प्राप्त अवसरलाई निशमले छक्का प्रहार गरेका थिए ।
निशमले कुल ५ चौका र ६ छक्का प्रहार गरि ६५ रन बनाई तनवीरकै बलमा आउट भए । निशम र मोहम्मद मोहिसनले २६ बलमा ६० रनको साझेदारी गरे । मोहसिन १२ बलमा २ चौका प्रहार गरि १३ रन बनाई रनआउट भएपछि यो साझेदारी टुटेको थियो । पहिलो ओभरमा दुई चौका प्रहार गरेका अनिल साह सोहि ओभरको अन्तिम बलमा रिजन ढकालको बलमा आउट भए । लाहिरु मिलान्था १ र हर्ष ठाकेर ६ रनमै आउट भए । शुभ कंसाकारले १२ बल खेलि २ चौका र १ छक्काका साथ १५ रन बनाए । ओपनर आसिफ शेखले २६ बलमा ४ चौकासहित २३ रन बनाए । रिजन, तनवीर र कप्तान कुशल मल्लले २–२ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको चितवनले कप्तान कुशल मल्लको ७२ रनमा १८०–५ को स्कोर बनाएको थियो । कुशल र रवि बोपाराले चौथो विकेटमा ६७ बलमा १ सय १३ रनको साझेदारी गरेपछि चितवनले मजबुत स्कोर बनाएको थियो । कुशलले ४१ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे । बोपाराले ३२ बल खेली ५ चौका र १ छक्का प्रहार गर्दै ४४ रन बनाए ।
विपिन रावल ३ रनमात्र बनाई ललित राजवंशीको बलमा आउट भएका थिए । सन्तोष कार्कीलाई १४ रनमा मोहसिनले बोल्ड गरे । ओपनर हसन इसाखिलले १९ बल खेली ४ चौका र १ छक्कासहित २८ रन बनाए । एनपीएलका उच्च विकेटकर्ता ललित राजवंशीले २ विकेट लिए । उनले ४ ओभरमा २ मेडन राख्दै ११ रनमात्र खर्चे । हर्ष ठाकर, जिम्मी निशम र मोहसिनले १–१ विकेट लिए ।