काठमाडौं - इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले सिरियाको राजधानी दमास्कस र लाताकिया क्षेत्र बीचमा रहेको सिरियाली सेनाको ७० देखि ८० प्रतिशत सम्पत्ति नष्ट गरेको दाबी गरेको छ ।
आईडीएफले शनिबार रातिदेखि वायु सेना र नौसेनाले सिरियामा साढे चार सयभन्दा बढी आक्रमण गरेको जनाएको छ ।यी आक्रमणबाट दमास्कस र लाटाकिया बीचको ७० देखि ८० प्रतिशत रणनीतिक सैन्य सम्पत्ति नष्ट गरेको दाबी उसले गरेको हो । इजरायली रक्षामन्त्री इजरायल काट्जले पछिल्लो आक्रमणमा इजरायली नौसेनाले सिरियाली नौसेनालाई ठूलो धक्का पुग्ने गरी आक्रमण गरेको बताउनुभएको छ ।
यसैबीच इजरायलको सेनाले गोलान हाइट्सबाट सिरियाको ‘असैन्यकृत बफर जोन’लाई आफ्नो नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बफर जोन सिरियाको राजधानी दमास्कसबाट करिब ४० किलोमिटर टाढा पर्छ । बफर जोनलाई नियन्त्रणमा लिएसँगै इजरायली सेना त्यहाँभन्दा १० किलोमिटर पर रहेको कटाना शहरमा पुगेको छ ।
इजरायली रक्षामन्त्री काट्जले दक्षिणी सिरियामा हतियारधारी र आतंकवादी समूहबाट मुक्त गर्न आइडीइफलाई निर्देशन दिनुभएको छ । सिरियामा बसर अल–असदको सत्ता ढलेपछि इजरायलले लगातार सैन्य पूर्वाधार लक्षित आक्रमण गरिरहेको छ। यसैबीच सिरियाको सैन्य पूर्वाधार लक्षित इजरायली आक्रमणको संयुक्त राष्ट्रसंघ र रुसलगायतका देशले आपत्ति जनाएका छन् ।