Mero Chitwan
दुर्गा प्रसाईं साइबर अपराधमा रिहा, संगठित अपराधको आरोपमा लगत्तै पक्राउ

काठमाडौं- साइबर अपराधको आरोप लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं काठमाडौं जिल्ला अदालतको आदेशबाट रिहा भएलगत्तै पुन: पक्राउ परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा ३२ अर्ब लगानी रहेको भन्दै प्रसाईंले नक्कली कागजात सार्वजनिक गरेको आरोपमा सीआईबीले पक्राउ गरेर साइबर ब्युरोको जिम्मा लगाएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हिजो दायर गरेको मुद्धामा काठमाडौं जिल्ला अदालतले ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

तर उनलाई पुन: सीआईबीले नियन्त्रणमा लिएको छ । प्रसाईंले धम्क्याएर पैसा असुल गरेको उजुरी परेपछि सीआईबीले अनुसन्धानका लागि हिरासतमा राखेको हो । तीन जना व्यवसायीले दिएको जोहरीका आधारमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

प्रसाईं आफैंले ५ लाख दिएर भारतीय आपराधिक समूह लोरेन्स विश्नोइको मान्छे भन्दै धम्क्याउन लगाएको अडियो प्रहरीले संकलन गरेको छ । प्रसाईंलाई अब सीआईबीले अदालतको अनुमति लिएर संगठित र आपराधिक विश्वासघातको कसुरमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update