
काठमाडौँ-नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स विजयी भएका छन् ।
आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै जित हासिल गरेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा काठमाडौँले जितका लागि दिएको एक सय दुई रनको लक्ष्य जनकपुरले १५ दशमलव पाँच ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको हो । जनकपुरका लागि जेम्स निशमले सर्वाधिक २७ रन बनाए । उनले १७ बलमा तीन छक्का र एक चौकाको मद्दतले २७ रन बनाएका हुन् ।
हर्ष ठाकरले २५, लाहिरु मिलन्थाले १६, मोहम्मद मोहसिनले १३ र कप्तान अनिल शाहले ११ रनको योगदान दिए । काठमाडौँका लागि शुभ कङ्साकारले पाँच रन जोड्दा आसिफ शेखले दुई रन बनाए ।
यो खेलमा जनकपुरले अतिरिक्त पाँच रन प्राप्त गरेको छ । बलिङतर्फ काठमाडौँका कप्तान करण केसीले सर्वाधिक दुई विकेट लिए । गेरहार्ड इरास्मस, दिपेश कँडेल र शाहब आलमले समान एक/एक विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको काठमाडौँले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर एक सय एक रन बनाएको थियो । काठमाडौँका लागि गेरहार्ड इरास्मसले सर्वाधिक २० रन बनाए । कप्तान करण केसीले १९ र स्टिफन एस्किनाजी १७ रन बाहेक अन्य कुनै खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
काठमाडौँका लागि शाहब आलम र माइकल लेविटले समान आठ/आठ, रासिद खानले सात, प्रतिक श्रेष्ठले छ, भीम सार्कीले चार र डेन डउथवेटले एक रन बनाए । यो खेलमा काठमाडौँले अतिरिक्त ११ रन पाएको थियो ।
जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले सर्वाधिक समान तीन/तीन विकेट लिए । यस्तै, मोहम्मद मोहसिनले दुई, अर्निको यादव र किशोर महतोले एक/एक विकेट हात पारेका थिए ।
आज भएको पहिलो खेलमा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई सुपर ओभरमा १३ रनले पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले जितका लागि दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । एनपिएलमा यो पहिलो सुपर ओभर खेल हो ।
सुपर ओभरमा पोखराले पहिले ब्याटिङ गरेको थियो । विराटनगरका कप्तान सन्दीप लामिछाने बलिङमा आएका थिए । पोखराका रेमन राइफरले पहिलो र दोस्रो बलमा छक्का प्रहार गरे । तेस्रो बलमा सन्दीपले डट राखे । चाँैथो बलमा राइफरले चौका प्रहार गरे । पाँचौं र अन्तिम बलमा सन्दीपले एक÷एक रन खर्चिए । समग्रमा विराटनगरले १९ रनको लक्ष्य पाएको थियो ।
विराटनगरका मार्टिन गप्टिल र निकोलस किर्तन मैदान उत्रिए । पोखराले बलिङमा पुन रेमन राइफरलाई ल्याएको थियो । पहिलो बलमा मार्टिन गप्टिलले एक रन बनाए । दोस्रो र तेस्रो बलमा किर्तनले एक÷एक रन लिए । चाँैथो बलमा किर्तनले डट बल खेले भने पाँचौं बलमा एक रन लिए । पाँचाँै बल रेमनले वाइड दिए र अन्तिम बल डट राख्दै पोखराले विराटनगरमाथि सुपर ओभरमा १३ रनको जित निकालेको हो ।
त्यसअघि एक सय ४० रनको लक्ष्य पछ्याएको पोखराका लागि आन्द्रेस गौसले सर्वाधिक ३९ रन जोडे । त्यस्तै रेमन राइफरले ३४ रन जोडे । कप्तान कुशल भुर्तेलले ३१ रन जोड्दा दिनेश खरेल र मिचेल लिस्कले समान ११-११ रन बनाए ।
विराटनगरका लागि प्रतिस जिशीले चार विकेट लिए भने क्रिस सोलले दुई विकेट लिए । टस जितेर पहिला ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३९ रनको योगफल बनाएको हो । विराटनगरका लागि स्कट एड्वार्डसले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बलमा ५ चौका प्रहार गरेका थिए । त्यसैगरी लोकेस बमले २६ रन बनाउदाँ बासिर अहमदले २१ रन जोडे । निकोलस किर्तनले १९ रन, क्रिस सोलले सात र मार्टिन गप्टिलले पाँच रन बनाए ।
पोखराका लागि सागर ढकाल र रेमन रिफरले समान दुई÷दुई विकेट लिए भने कप्तान कुशल भुर्तेल र दिनेश खरेलले समान एक-एक विकेट झारे ।