Mero Chitwan
हमासको नियन्त्रणमा रहेका विपीन जोशी जीवितै रहेको इजरायली राजदूतको दाबी

काठमाडौँ - प्यालेस्टिनी समूह हमासले २०२३ को अक्टोबरदेखि बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशी जीवितै रहेको इजरायली राजदूतले दाबी गरेका छन् । नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए. वासले जोशी गाजा क्षेत्रमा जीवितै रहेको सूचना पाएको बताएका हुन् ।

‘अरबी देशको स्रोतबाट नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको सूचना हामीले पाएका छौं,’ वासले बिहीबार काठमाडौंमा पत्रकारहरुसँग भने, ‘हाम्रा लागि विपिन निकै महत्वपूर्ण छन् । उनी छिट्टै काठमाडौं फर्किनेछन् ।’

तर राजदूत वासले विपीनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको बताए ।

हमासले विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगिएको थियो । त्यसमध्ये दुई पटक भएको युद्धविराममा १ सय ५ जना रिहा गरिएको थियो भने ८ जनालाई इजराइली सेनाले उद्धार गरेको थियो । बन्धकमध्ये ३४ जनाको शव गाजा क्षेत्रमा भेटिइसकेको छ ।

इजरायलका अनुसार विपिनसहित ९६ जना अझै हमासको नियन्त्रणमा छन् । उनीहरुको रिहाईका लागि पहल भइरहेको राजदूत वासले बताए । 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update