Mero Chitwan
हरिहर मन्दिरलाई धामको रुपमा विकास गर्न मंसिर २४ देखि श्रीमद्भागवत महायज्ञ

रत्ननगर : रत्ननगरको निपनीस्थित गायत्री हरिहर मन्दिरमा मंसिर २४ गतेदेखि श्रीमद्भागवत धनधान्याचन ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञ मुल समारोह समितिले आज पत्रकार सम्मेलन गरी महायज्ञको उद्धेश्य र लक्ष्यबारे जानकारी गराएको हो ।

हरिहर मन्दिरलाई धाममा विस्तार गर्न पूर्वाधार तयार गर्ने, गायत्री गुरुकुलम्‌को भौतिक पूर्वाधार तयार गरी निकट भविष्यमा विद्यापीठमा रूपान्तरण गर्न र हरिहर सदनलाई पूर्णता दिने उद्धेश्यका साथ महायज्ञ आयोजना गरिएको महायज्ञ मुल समारोह समितिका संयोजक रुपनराज घिमिरेले जानकारी दिए । यी उद्धेश्य लागि मन्दिरले स्थानीय, प्रदेश र संघीय सरकारसंग समन्वय गरी रत्ननगरलाई धार्मिक पर्यटकीय नगरीमा परिणत गर्ने लक्ष्य समेत लिएको छ ।

महायज्ञको पहिलो दिन मंसिर २४ गते शोभायात्रा र पूर्वाङ्ग भई पुस १ गते पूर्णाहुति हुनेगरि सञ्चालन हुने महायज्ञमा अनन्तश्रीविभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजको प्रमुख आतिथ्यमा आचार्य ओमप्रकाश सुवेदीले कथावाचन गर्ने संयोजक घिमिरेले जानकारी दिए ।

मन्दिरले ६ कक्षा देखि १२ कक्षासम्म कक्षाहरू सञ्चालन गर्दै आएको छ भने ३५ जिल्लाका ७५ बटुकहरू र ६ जना गुरुहरूलाई आवासीय सेवासुविधासहित निःशुल्क सेवासुविधा दिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update