Mero Chitwan
दक्षिण कोरियामा सैनिक कानुन लागू

एजेन्सी-दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले देशमा सैनिक कानुन लागू गरेका छन् ।

राति अबेर एक टिभी सम्बोधनमा उनले उत्तर कोरियाका समर्थकलाई देशबाट हटाउन यो कदम चालिएको बताएका हुन् । संवैधानिक व्यवस्था बचाउनका लागि यस्तो कदम चालिएको उनको भनाइ छ । 

राष्ट्रपति योलले आफूसँग सैनिक कानुन लागू गर्नुबाहेक अर्को विकल्प नभएको बताए। तर, यसका लागि के–कस्ता विशेष कदम चाल्ने उनले बताएनन् ।

राष्ट्रपतिको घोषणाको देशका सत्तारुढ दल र प्रतिपक्ष दुवैका केही नेताले विरोध गर्न थालेका छन् । सत्तारुढ दल पीपुल्स पावर पार्टीका अध्यक्ष हान डोङ–हुनले यो निर्णय फिर्ता लिन अपिल गरेका छन् ।

देशमा सैनिक कानुन लागू गर्ने घोषणासँगै सेनाले सबै अर्धसैनिक गतिविधि स्थगन गरेको छ । सांसदहरुलाई भवनमा प्रवेश गर्न निषेध गरिएको छ।

सामाजिक सञ्जालमा प्रसारित भएको फुटेजमा राजधानी सियोलको येओन्डियोङपो जिल्लामा रहेको संसद भवन बाहिर प्रहरी बलको भारी तैनाथ गरिएको देखिन्छ।

दक्षिण कोरियाको प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टीले सबै सांसदहरूलाई संसदमा भेला हुन आग्रह गरेको छ ।

दक्षिण कोरियाको संविधानअनुसार राष्ट्रिय सभामा बहुमत सांसदले देशमा सैनिक शासन हटाउन माग गरेमा सरकारले स्वीकार गर्नुपर्नेछ ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  २२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update