Mero Chitwan
चितवन राइनोजको लगातार दोस्रो जित

काठमाडौँ-सोहेल तनविर र रिजन ढकालले आफ्नो एकै ओभरमा ३–३ विकेट लिएपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सलाई १३.२ ओभरमा ७४ रनमा समेट्दै चितवनले ८७ रनको विजय हात पारेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा तनविरले इनिङ्सको पहिलो ओभरमै ३ विकेट लिएका थिए । उनले पहिलो बलमै कुशल भूर्तेललाई आउट गरेका थिए । काठमान्डु गुर्खाजविरुद्धको अघिल्लो खेलमा ५ विकेट लिएका तनविरले मंगलबार पहिलो ओभरमा दिलीप नाथ (४) र बास डे लिग (०) लाई आउट गरेका थिए ।

रिजनले चौथो ओभरमा ओपनर दिनेश खरेल (१) सहित किरण ठगुन्ना (१) र माइकल लिस्कलाई शून्यमा एलबीडब्लु आउट गरेका थिए । त्यसपछि पोखराको ७ रनमा हुँदा ६ र १७ रनमा हुँदा ७ विकेट गुमाएको थियो । लुक बेन्केनस्टेनले पनि ३ विकेट लिए । उनले रेयमन राइफरलाई १ रनमा, मार्कुस क्रिच्लेलाई १७ रनमा आउट गरे । क्रिच्लेले १६ बल खेली २ चौका प्रहार गरे ।

नारायण जोशीले पोखराबाट सर्वाधिक ३० रन बनाए । २४ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । बेन्केनस्टेनले उनलाई आफ्नो तेस्रो सिकार बनाए । विपिन खत्रीलाई ९ रनमा दीपक बोहराले बोल्ड गरे ।

यसअघि पोखराले टस जितेपछि ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ६१ रन बनाएको थियो । भेट्रान इंग्लिस ब्याटर रवि बोपाराले चितवनबाट सर्वाधिक ५१ रन बनाएका थिए । उनले ३८ बल खेली समान ३ चौका र छक्का प्रहार गरे । बोपाराले कप्तान कुशल मल्लसँग चौथो विकेटमा ६८ रनको साझेदारी गरे । कुशलले २३ बल खेली १ चौका र ४ छक्का प्रहार गरी ३८ रन बनाए ।

ओपनर दीपक बोहरा २ र हसन एइसाखिलले १० बलमा १४ रन बनाए । लुक बेन्केनस्टेनले १६, सन्तोष कार्की ११, सोहेल तनविर शून्यमा आउट भए । शरद भेषावकर १२ बलमा ११ र इनिङ्सको अन्तिम बलमा छक्का प्रहार गरेका अमरसिंह राउटेला ६ बलमा १३ रन बनाई अविजित रहे । पोखराबाट विपिन खत्री, बास डे लिड र रेयमन राइफरले २–२ तथा सागर ढकालले १ विकेट लिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update