Mero Chitwan
चीनले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने

बेइजिङ-चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी अर्थात् करिब रु नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भएको भेटवार्तामा राष्ट्रपति सीले नेपाललाई पाँच सय मिलियन आरएमबी अनुदान दिने घोषणा गरेका हुन् । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच  अत्यन्त सौहार्दपूर्णरूपमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध र हितका विविध विषयमा विस्तृत छलफल भएको जानकारी दिए । 

सहसचिव ढकालका अनुसार नेपाल र चीन पुराना र असल छिमेकी तथा मित्रराष्ट्र भएको उल्लेख गर्दै राष्ट्रपति सीले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, सम्मान र सहयोगमा आधारित रहेको बताए । उनले नेपालको विकास र समृद्धिमा चीनको दरिलो साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे । 

राष्ट्रपति सीले नेपाली वस्तु चिनियाँ बजारमा आयात गर्न र चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहन गर्न तयार रहेको बताए । 

सो अवसरमा प्रधानमन्त्री ओलीले चीन र नेपालको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको बताउँदै आपसी सम्बन्धको मूल आधार सार्वभौमिक समानता र आपसी समझदारी एवं विश्वास भएको स्पष्ट पारे । 

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई निमन्त्रणा दिनुभयो ।

जवाफमा राष्ट्रपति सीले नेपाल भ्रमण आमन्त्रणको लागि धन्यवाद व्यक्त गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताए । 

भेटमा प्रधानमन्त्री ओलीले छोटो अवधिमा चीनले गरेको तीव्रतर विकास र गरिबी निवारणको क्षेत्रमा हासिल गरेको सफलताको प्रशंसा गरेका थिए ।  साथै ‘वर्तमान सरकार, समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षासहित आर्थिक विकास र रुपान्तरणमा केन्द्रित रहेको बताउँदै उनले आर्थिक विकासका क्षेत्रमा मित्रराष्ट्र चीनसँग नेपालले थप सहयोग र साझेदारी गर्न चाहेको जानकारी गराए । 

प्रधानमन्त्री ओली र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सुबीच पनि आजै भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो भेटमा उहाँहरूबीच संसदीय अभ्यासका अनुभव आदानप्रदानका विषयमा छलफल भएको थियो ।

नेपाल र चीनबीच ८ बुँदे सहमति

यसैबीच नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । 

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको होे । 

 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  २१:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update