Mero Chitwan
चितवनलाई केरा खेतीको सुपरजोन घोषणा

चितवन- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चितवनलाई केरा खेतीको सुपरजोन घोषणा गरेको छ । परियोजनाले चितवनसहित देशभर कृषिका २२ वटा सुपरजोन घोषणा गरेको हो । केराको सुपरजोन भने पहिलो पटक घोषणा भएको हो ।

चितवनमा एक हजार आठ सय हेक्टर जमिन केरा सुपर जोनमा सूचीकृत भएको छ । साउनमा सुपरजोन घोषणा गरिएपछि शुक्रबार सुपरजोन सञ्चालन समिति पनि गठन भएको छ । चितवनमा माछा, मौरी, तरकारी र धानको जोन सञ्चालित छन् ।

सुपरजोन घोषणा भएपछि आत्मनिर्भर हुने तरिकाले कृषि उत्पादन बढाउनु पर्ने हुन्छ । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न औजार उपकरण र उन्नत बीउ बिरुवाको प्रबन्ध गर्नुका साथै उत्पादन बढाउने, बजारीकरणका योजना बनाउने र व्यवसायीकरण गर्दै उद्योगमा रूपान्तरण गर्ने योजनाका साथ सरकारले लगभग ९ वर्षअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु गरेको हो । चितवनमा आर्थिक वर्ष ०७५/७६ मा केरा जोन घोषणा भएको थियो ।

सुपरजोन भएपछि केराबाट अरु परिकार र औद्योगिक उत्पादन बनाइने परियोजनाले जनाएको छ । केराको थामबाट रेशा निकालेर प्रशोधन गरी सेनेटरी प्याड बनाउने उद्योग खोल्ने योजनामा रहेको जनाइएको छ । चितवनमा दुई हजार हेक्टरभन्दा बढी जमिनमा केरा खेती हुँदै आएको छ । तीमध्ये सहकारी, समूह र व्यक्ति गरेर एक हजार ८५० हेक्टर जमिनमा केराखेती गर्ने २२५ जनाभन्दा बढी किसान सुपरजोनमा सूचीकृत छन् ।

चितवनमा वर्षको दुई अर्ब रुपैयाँ हाराहारीमा केरा बिक्री हुने गर्दछ ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  २१:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update