Mero Chitwan
रत्ननगर तेस्रो मेयर कप : हेटौडाले जित्यो उपाधि

रत्ननगर- चितवनको रत्ननगरमा आयोजना गरिएको तेस्रो अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि हेटौडा उपमहानगरपालिकाले जितेको छ ।

नेपाल माविको खेलमैदानमा शनिबार भएको फाइनल खेलमा चितवनको राप्ती नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै हेटौडाले उपाधि रक्षा गरेको हो । प्रतियोगिताको विजेता हेटौडा उपमहानगरपालिकाको टिमलाई रु २ लाख ११ हजार १११ र उपविजेता राप्ती नगरपालिकाको टिमलाई रु १ लाख ५१ हजार १११ सहित पदक, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि हेटौडाकी मेयर मीना लामा, रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा, उपमेयर यादब प्रसाद पाठकले विजेता र उपविजेता टिमलाई उपाधि हस्तान्तरण गरेका थिए ।

हेटौडाकी मेयर लामाले खेलाडीहरुलाई प्रोत्साहन र सीप विकासको लागि रत्ननगरले आयोजना गरेको मेयर कपको विशिष्ट महत्व रहेको बताइन् । उनले हेटौडाले एक वडा एक खेलमैदानको अबधारणा अघि सारेको बताइन् । उद्यमशिलता विकास र बालमैत्री नगर घोषणालाई प्राथमिकता दिएर पालिकाले काम गरिरहेको उनको भनाइ छ ।

सो अबसरमा रत्ननगरका मेयर प्रलाद सापकोटाले खेलकुदको विकास र खेलकुदको माध्यमबाट पालिकाहरु बीच सहकार्य स्थापित गर्न मेयर कप आयोजना गरिएको बताए । राप्तीका मेयर लामाले रत्ननगरले आयोजना गरेको मेयर कपले बागमती प्रदेशकै खेलकुदको विकासमा योगदान दिएको बताए । रत्ननगर खेलकुद विकास समितिका अध्यक्ष कृष्ण महतोको अध्यक्षतामा भएको समापन कार्यक्रममा रत्ननगरका कार्यबाहक प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद बाग्लेले स्वागत मन्तव्य राखेका थिए ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ आर्थिक वर्ष २०८१-०८२ को वार्षिक कार्ययोजना अन्तर्गत तेश्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता आयोजना गरिएको हो । 

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  २२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update