रत्ननगर : चितवनको रत्ननगरमा जारी दुई लाख पुरस्कार राशीको तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगितामा राप्ती नगरपालिका फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै राप्ती नगरपालिका फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुबै टिमबाट कुनैपनि गोल नभएपछि ट्राइब्रेकरमा राप्तीले इच्छाकामनालाई ३–४ गोल अन्तरले पराजित गर्दैै फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका राप्ती नगरपालिकाका गोलरक्षक दर्पण लामा म्यान अफ दी म्याच घोषित भएका छन् । विहीबार हेटौडा उपमहानगर र मनहरि गाउँपालिका बीच दोस्रो सेमिफाइन खेल हुने छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्ययोजना अन्तर्गत तेश्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगीता आयोजना गरिएको खेलकुद विकास समितिका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए । नेपाल माविको खेल मैदानमा सुरु भएको प्रतियोगितामा चितवनका सात, मकवानपुरका दुई र नवलपरासीको एउटा पालिका १० वटा टिमले सहभागिता जनाएको खेलकुल विकास समितिका संयोजक चौधरीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख ११ हजार १११, द्वितिय हुने टिमलाई १ लाख ५१ हजार १११ सहित पदक, ट्रफि र प्रमाणपत्र प्रदान गरिने नगर स्तरीय खेलकुद विकास समितिका सहसंयोजक सौगात भूजेलले जानकारी दिए । प्रतियोगितामा प्लेयर अफ द म्याच घोषित हुने खेलाडीलाई २ हजार ५०० र प्लेयर अफ द टुर्नामेन्ट घोषित हुने खेलाडीलाई १० हजार ५०० प्रदान गरिने उनले जानकारी दिए ।