काठमाडौं : आजदेखि धरहरा सर्वसाधारणका लागि खुला भएकाे छ । निर्माणको छ वर्षपछि शुल्क तिरेर धरहरा चढ्न पाउने व्यवस्था गरिएको हो ।
स्वदेशी नेपाली नागरिकले २ सय रुपियाँ तिरेर धरहरा चढ्न पाउने भएका छन् । धरहरा चढ्न विद्यार्थी, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, १० वर्षभन्दामुनिका बालबालिका र अपांगता भएका व्यक्तिहरूले ५० प्रतिशत छुट अर्थात् १ सय रुपियाँमा धरहरा चढ्न पाउनेछन् । यसअघि संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट केही दिनका लागि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो । प्रवेश शुल्कअनुसार स्वदेशी नागरिकको लागि प्रतिव्यक्ति २ सय रुपियाँ शुल्क तोकेको छ ।
यस्तै धरहरा परिसर अवलोकन गर्न ५० रुपैयाँ तिर्नुपर्नेछ । सार्क राष्ट्रका नागरिकले ५ सय र सार्कबाहेकका विदेशीले १ हजार रुपैयाँ तिर्नुपर्नेछ । यस्तै व्यावसायिकबाहेक राष्ट्रिय महत्वका विज्ञापन शुल्क प्रतिघण्टा ५ हजार, भिडियो छायांकन प्रतिघण्टा ५ हजार र व्यावसायिक फोटोग्राफी छायांकन शुल्क प्रतिघण्टा १ हजार तोकिएको छ । पर्किङ शुल्क चारपाङ्ग्रे प्रतिघण्टा २० र दुईपाङ्ग्रे प्रतिघण्टा १० तोकिएको छ ।
गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा शुल्क लिई धरहरा सञ्चालन गर्ने निर्णय गरेपछि आजबाट व्यावसायिक रूपमा धरहरा खुला भएको हो ।
२०७२ सालको शक्तिशाली भूकम्पबाट ध्वस्त धरहरा पुनर्निर्माणपछि यही असोज ३ गते खुला भएको थियो । भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले असोज ३ गतेबाट केही समयका लागि धरहरा खुला गरेको थियो । जीआईटीसी रमन कन्स्ट्रक्सन जोइन्ट भेन्चर कम्पनीले धरहरा पुनर्निर्माण गरेको हो ।
अवलोकनकर्ताले केही दिन वेवसाइटमार्फत् र केही दिनपछि भौतिक रूपमा धरहरा परिसरबाटै टिकट काट्न पाउने व्यवस्था गरिएको छ । २२ तले धरहरा चढ्नेले भूकम्पले ध्वस्त भएर ठुटोमात्र बाँकी रहेको भाग र भग्नावशेष खुला रूपमा हेर्न पाइने व्यवस्था छ । धरहरामा माथिसम्म पुग्न लिफ्ट जडान गरिएको छ ।