चितवन-नारायणी नदीमा ६ हजार माछाका भुरा छाडिएको छ । नदी आसपास बस्ने बोटे, माझी, मुसहर, थारु, कुमाल, दराई जस्ता समुदायलाई जीवन निर्वाहमा सहज होस् भनेर भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरको आयोजनामा माछाका भुरा छाडिएको हो ।
विश्व मत्स्य दिवसको अवसर पारेर कावासोती–१७ अमलटारीबाट नदीमा माछा छाडिएको हो। नारायणी नदीको नवलपुर खण्डमा रहेका यी समुदायको प्रमुख आयकाे स्रोत नदी नै हो । नदीमा नैनी प्रजातिका ६ हजार माछाको भुरा छाडिएको स्थानीय माछापालक किसान परमेश्वर महतोले बताए ।
नारायणी नदीमा पछिल्लो समय माछा हराउँदै गएको स्थानीयको भनाइ छ । नदीको प्राकृतिक स्वरुपमै राख्न माछाको भुरा छाडिएको मत्स्य व्यवसायी संघ नवलपुरका सचिव इन्द्रमणि भुसालले बताए ।
नारायणी नदीमा यसअघि पनि माछा, घडियाल गोही, कछुवा छाडिदै आएको छ । गतबर्ष पनि यहाँ मत्स्य दिवसका अवसरमा माछा छाडिएको थियो ।
नवलपुरमै उत्पादन भएका माछाका भुरा नारायणी नदीमा छाडिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका कार्यालय प्रमुख डा. शर्मिला कुमालले बताए । उनका अनुसार यहाँ छाडिएका एउटा माछाले एक पटकमा तीन लाखसम्म माछाका भुरा जन्माउन सक्ने भएकोले केही माछा मात्रै हुर्कन सक्यो भने पनि उपलब्धिमुलक हुनेछ ।
नारायणी नदी चितवन राष्ट्रिय निकुञ्जमा रहेको गैडा, बाघ, भालु, हात्ती जस्ता जंगली जनावरका साथँै यहाँ आउने लाखौं चराचुरुङ्गीको पानीको स्रोत पनि हो । नारायणी नदीलाई पुरानै अवस्थामा फर्काउन नसके पनि यहाँ रहेका जलचरहरुलाई संरक्षण गर्नु आवश्यक रहेको अधिकारकर्मी बताउँदछन् ।