काठमाडौं । साबिक विजेता नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै सुर्खेतमा जारी ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
वीरेन्द्रनगरस्थित खुलामञ्चको कोर्टमा आज (मंगलबार) सम्पन्न समूह ‘ए’ को खेलमा एपीएफले बागमती प्रदेशलाई सोझो सेटमा पराजित गरेको हो । एपीएफले बागमतीलाई २५-७, २५-१८ र २५-१३ ले हराएको थियो ।
यस्तै समूह ‘बी’मा मधेश प्रदेशलाई २५-२०, २५-१९ र २५-१४ ले पराजित गर्दै त्रिभुवन आर्मी क्लब पनि समूह विजेता बनेको छ । आर्मी र एपीएफ यसअघिनै सेमिफाइनल पुगिसकेका थिए । लिगका सबै ४ खेल हारेको बागमती प्रतियोगिताबाट बाहिरिएको छ । मधेशले पनि अघिल्लो चरणमा स्थान बनाउन सकेन ।
समूह ‘ए’ मा पुलिस अन्तिम खेलअघि नै सेमिफाइनल पुगेको छ । पुलिसले आजै भएको तेस्रो खेलमा कोशीलाई सोझो सेटमा हराएको छ । पुलिसले सेमिफाइनलमा समूह ‘बी’ को विजेता आर्मीको सामना गर्ने भएको छ ।
समूह ‘ए’ बाट एपीएफ र पुलिस सेमिफाइनलमा पुगेका हुन् । समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको निर्णय आज हुने गण्डकी प्रदेश र घरेलु टोली कर्णालीको खेलपछि टुंगो लाग्नेछ ।