-1731946066.jpg)
भरतपुर-नेपाल प्रिमियर लिगको टिम चितवन राइनोजले आधिकारिक जर्सी सार्वजनिक गरेको छ ।
भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालको आतिथ्यतामा आयोजित कार्यक्रममा जर्सीसहित मस्कट र टिम गीत पनि सार्वजनिक गरिएको हो ।
कार्यक्रममा मेयर दाहालले चितवन र भरतपुरले खेलकुदमा उल्लेख्य प्रगति गर्दै गएको दाबी गरिन् । ‘एनपीएलमा चितवन राइनोजको सशक्त उपस्थिति रहनेमा हामी विश्वस्त छौं । चितवन र भरतपुरमा दक्ष खेलाडी जन्मनु आवश्यक हुँदै गएको छ । क्रिकेट रंगशाला तीव्र रूपमा तयार हुँदै छ । यस्तो बेला चितवन राइनोजको खेलले यहाँ राम्रो प्रभाव पार्नेछ,’ दाहालले भनिन् ।
चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले स्थानीय र क्षेत्रीय तहको क्रिकेटलाई उकास्न एनपीएलले राम्रो वातावरण बनाउने बताए । टोलीमा बलिया र जुझारु खेलाडी भएका कारण हामी उपाधि जित्नेमा विश्वस्त रहेको पनि उनले बताए ।
चितवनका माकी खेलाडी कुशल मल्लले आफ्नो टिम जित्नका लागि मैदान उत्रने हुँदा ढुक्क भएर टिमको हौसला बढाउन चितवनवासीलाई अपील गरे ।
चितवनमा सन् १९९५ मा गठित चितवन राइनो क्रिकेट क्लबबाट प्रभावित भएर चितवन राइनोज गठन गरेको अध्यक्ष न्यौपानेले बताए । त्यसअवसरमा चितवन राइनोका तत्कालीन कप्तान मनिष सापकोटा र अन्य खेलाडीलाई चितवन राइनोजको जर्सी उपलब्ध गराउनुका साथै राइनो क्लबले प्रयोग गरेको पुरानो ब्याट चितवन राइनोजलाई उपहार दिएको थियो ।