Mero Chitwan
बाइडेनले ट्रम्पलाई ह्वाइटहाउसमा भने-वेलकम ब्याक !

एजेन्सी-अमेरिकाका भावी राष्ट्रपति डनल्ड ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडनबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ । लामो समयदेखिका राजनीतिक प्रतिद्वन्द्वी ट्रम्प र बाइडनबीच सत्ता हस्तान्तरणका विषयमा छलफल भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले उल्लेख गरेका छन् ।

नवनिर्वाचित राष्ट्रपतिलाई सत्ता छाड्न लागेका राष्ट्रपतिले ह्वाइट हाउसमा स्वागत गर्ने परम्परालाई निरन्तरता दिँदै बाइडनले ट्रम्पलाई ह्वाइट हाउसमा भेटका लागि निम्त्याएका हुन् । 

यद्यपि, २०२० मा राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि तत्कालीन राष्ट्रपति ट्रम्पले बाइडनलाई यस्तै निम्तो नदिएर वर्षौंदेखिको परम्परा तोडेका थिए ।  ह्वाइट हाउसको ओभल अफिसमा भएको भेटमा दुवै नेताबीच सौहार्दपूर्ण वातावरणमा वार्ता भएको जनाइएको छ । 

बाइडनले ट्रम्पलाई 'वेलकम ब्याक' भन्दै स्वागत गरेका थिए भने सहज सत्ता हस्तान्तरणका साथै उनको सुविधाका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 

प्रत्युत्तरमा ट्रम्पले सत्ता हस्तान्तरण सहज रुपमा हुने विश्वास व्यक्त गर्नुका साथै बाइडनलाई धन्यवाद दिएका थिए ।  ८१ वर्षीय बाइडनले यसअघि ७८ वर्षीय ट्रम्पलाई लोकतन्त्रका लागि खतरा भन्दै आएका थिए भने ट्रम्पले बाइडनलाई असक्षमका रुपमा चित्रित गर्दै आएका थिए । 

यसैबीच, अमेरिकी संसदको माथिल्लो सदन सिनेटपछि अब तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा पनि रिपब्लिकनले बहुमत सिट जित्ने निश्चित भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले प्रक्षेपण गरेका छन् । 

नोभेम्बर ५ मा राष्ट्रपतीय निर्वाचनका साथै तल्लो सदनका सबै ४ सय ३५ र माथिल्लो सदनका एक सय मध्ये ३४ सीटका लागि पनि मतदान भएको थियो । दुवै सदनमा रिपब्लिकनको पकड हुनुको अर्थ नवनिर्वाचित राष्ट्रपति ट्रम्प थप शक्तिशाली हुनु हो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update