काठमाडौं । नेपाल सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू-१९ महिला विश्वकपमा छनोट भएको छ ।
आईसीसी यू-१९ महिला टी–२० विश्वकप एसिया छनोटको आफ्नो अन्तिम खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपालको महिला टिम पहिलो पटक विश्वपकमा छनोट भएको हो । यससँगै आगामी वर्ष मलेसियानमा हुने यू-१९ महिला विश्व कप खल्ने सबै टोलीको टुङ्गो लागेको छ । एसिया छनोटबाट नेपाल विश्वकपमा छनोट भएपछि सबै १६ टोलीको टुङ्गो लागेको हो ।
डबल राउन्ड रोविनको पहिलो खेलमा यूएईसँग १३ रनले पराजित नेपालले सो हारको बदला लिँदै विश्वकपमा स्थान बनाएको हो । नेपाललाई विश्वपकमा पुग्न १६ ओभर २ बलमा ८४ रनको लक्ष्य पूरा गर्नुपर्ने समीकरण थियो । नेपालले १४ ओभर ४ बलमा जित हासिल गर्दै ऐतिहासिक उपलब्धि हात पारेको हो ।
यूएईस्थित सेभेन्स स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको सामान्य योगफल तयार पारेको थियो । यूएईका लागि कप्तान समाइरा धारनिधार्काले ४८ बलमा सर्वाधिक ३१, रिनिथा रञ्जिथाले १८ बलमा २०, इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले समान १०–१० रन जोडे ।
एक समय ५९ रनमा २ विकेट गुमाएर बलियो स्थितlमा पुगेको यूएईले बाँकी २४ रन जोड्दा ७ विकेट गुमाएको थियो । नेपालका लागि कृष्मा गुरुङले ४, रिया शर्मा र सिमाना केसीले समान २–२ तथा रचना चौधरीले १ विकेट लिए ।
जवाफमा नेपालले १४ ओभर ४ बलमा लक्ष्य पूरा गर्यो । सावित्रा धामी ९ बलमा १२ रन बनाएर बाहिरिन् । कप्तान पूजा महोतोले २१ रनको योगदान दिइन् । साना प्रविन ३५ रन र सोनी पाख्रिन १३ रनमा अविजित रहे । यूएईका लागि मेहक ठाकुरले २ विकेट लिइन् ।
आईसीसी यू-१९ महिला टी-२० विश्वकप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ । सहभागी १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । नेपाल सम्मिलित समूह 'डी'मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । नेपालले आफ्नो पहिलो खेलमा जनवरी १८ मा बंगलादेश, २० मा स्कटल्यान्ड र २२ जनवरीमा अस्ट्रेलियासँग खेल्नेछ ।