काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेर मानव बेचबिखनको आरोपमा अनुसन्धान सुरु गरेको छ ।
अधिकारीलाई प्रहरीले विराटनगरस्थित निवासबाटै पक्राउ गरी यति एयरलाइन्सको विमानबाट काठमाडौं ल्याएको हो । उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले २ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
गत कार्तिक १४ गते पूर्वमन्त्री अधिकारीसहित चार जनालाई जापानको अध्यागमनले फिर्ता गरिदिएको थियो । उनीहरुमध्ये अधिकारीबाहेक ३ युवालाई अध्यागमनले पक्राउ गरी प्रहरीलाई बुझाएको थियो।
यसअघि पक्राउ परेका ६ जनालाई चार दिन थुनामा राख्ने अनुमति लिएको प्रहरीले पूर्वमन्त्री अधिकारीलाई सोही दिनको मिलान म्याद लिएको हो । मन्त्री अधिकारीले पदीय मर्यादा विपरीत अन्य तीन जनालाई सँगै लिएर गएको आरोप लागेको छ ।
बिचौलिया तथा मानव तस्करको योजना अनुसार भिजिट भिसामा कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालयको कर्मचारीको परिचय पत्र समेत बनाइएका तीन जना जापान पुगेका थिए । जापान पठाउने गिरोहमध्येका ३ जना र नक्कली परिचयपत्र बनाएर गएका ३ सहित ६ जना यसअघि नै हिरासतमा छन् । पूर्वमन्त्री पक्राउ परेपछि सबैजना विरुद्ध मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान हुने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
मन्त्रीले आपराधिक समूहसँगको सम्बन्धबाट फाइदा लिएको बारे पनि प्रहरीले थप खोजी गर्नेछ । केही व्यक्ति अझै फरार रहेकाले मन्त्रीको संलग्नता खुल्न बाँकी रहेको हो ।