चितवन-दोस्रो भरतपुर १९ सांस्कृतिक, व्यापारिक तथा पर्यटन महोत्सव २०८१ आइतबारदेखि सुरु भएको छ ।
आइतबार एक समारोहबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महोत्सव उद्घाटन गर्नुभएको हो। शारदानगरस्थित हेल्थ पोस्ट चौरमा आयोजना गरिएको यो महोत्सव मंसिर ९ गतेसम्म सञ्चालन हुने छ । महोत्सवले क्षेत्रीय सांस्कृतिक पहिचान, व्यापारिक विकास र पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा नगर प्रमुख रेनु दाहालले भरतपुर-१९ को सांस्कृतिक विविधता, आर्थिक सम्भावना र पर्यटकीय आकर्षणलाई महोत्सवले उजागर गर्ने विश्वास व्यक्त गरिन्। यस्तै स्थानीय संस्कृति र सम्पदाको प्रवर्द्धन गर्नुका साथै यहाँको व्यापारिक र पर्यटन क्षेत्रलाई नयाँ गति दिने विश्वास दाहाल व्यक्त गरिन् । उनले महोत्सवलाई थप आकर्षक बनाउन महानगरपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाइन् ।
आयोजक समितिका अनुसार महोत्सव अवधिभर स्थानीय उत्पादनको प्रदर्शनी, व्यवसाय प्रवर्द्धनका स्टलहरू, विभिन्न सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक प्रस्तुतिहरू तथा पर्यटकलाई आकर्षित गर्ने विविध गतिविधि सञ्चालन गरिने छ।