कास्की- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धानका लागि कास्की जिल्ला अदालतले आइतबार अनुमति दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले सभापति लामिछानेलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। प्रहरीले सभापति लामिछानेलाई आइतबार कार्यालय समय खुलेलगत्तै म्याद थपका लागि अदालत लगेको थियो ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको अभियोगमा सभापति लामिछाने यही कात्तिक २ गते पक्राउ परेका हुन् । उनलाई कात्तिक ४ गते पहिलोपटक अदालत उपस्थित गराइएकामा पहिलोपटक पक्राउ परेको मितिले सात दिन र दोस्रो पटक कात्तिक ७ गते थप सात दिन म्याद थप गरिएको थियो । कात्तिक २० गते तेस्रोपटक कात्तिक १५ गतेदेखि लागू हुने गरी १० दिनको अनुसन्धान समय दिइएको थियो । सभापति लामिछानेलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।