काठमाडौं-अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर तराई-मधेशसहित देशका विभिन्न ठाउँमा छठ पर्व हर्षाेल्लाससहित मनाइएको छ । पोखरी, तलाउ तथा नदी किनारामा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थितिमा छठ मनाइएको हो ।
देशभर छठघाटलाई सिँगारेर ‘बेहुली’ झै चिटिक्क पारिएको छ । श्रद्धालु भक्तजनहरु दिउँसोदेखि नै घरनजिकै रहेको छठ घाटमा परिवारका पुरुष सदस्यले ‘दउरा’ (पूजाका सामग्री बोकेको ढकिया) बोकेर छठघाटमा पुगेका थिए ।
छठ कात्तिक शुक्ल चतुुर्थीबाट सुरु भएर कात्तिक शुक्ल सप्तमीको बिहानीका उदाउँदो सूर्य अर्घ्य दिएर समापन गर्ने गरिन्छ । छठ पर्वको मुख्य तिथि भने कात्तिक शुक्ल षष्टीको दिनलाई मान्ने गरिन्छ ।
बर्तालुका अनुसार दउरामा विशेष गरी बोटसहितको अदुवा मुला, केरा, पिँडालु, बेसार, नरिवल, स्याउ, सुन्तला केरालगायत फलफूल, प्रसादमा ठेकुवा लिएर घाटमा पूजा आराधाना गर्ने चलन छ । अर्घ्यका लागि भने कसैली सुपारी, इलाइची, ल्वाङ, सिन्दुर चढाउने परम्परा छ ।
छठ पर्वमा महिला–पुरुष भक्तजनहरुले नदीबाट जल लिएर अस्ताउँदो वा उदाउँदो सूर्यतर्फ फर्किएर अर्घ्य दिने गरिन्छ । श्रद्धालु भक्तजन महिलाले आफ्नो परिवार र सन्ततीको सुखी र समृद्धिको कामना गर्दै पानी समेत नखाई व्रत बसी छठ मनाउँछन् । छठ पर्व प्रकृतिसँग पनि सम्बन्धित छ ।
विधिवत् रुपमा छठ पूजाको समापन भने शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिनेछ ।” छठ पर्वमा परिवारका सदस्यले छठ पूजाका सामग्रीलाई ढकिया, डालोलगायत राखेर छठ घाटमा ल्याउने परम्परा छ ।