Mero Chitwan
छठमा झकिझकाउ काठमाडौं उपत्यकाका नदी तथा पोखरी

काठमाडौँ-छठमा काठमाडौै‌ उपत्यकाका नदी तथा पोखरी सिंगारिएर झकिझकाउ पारिएका छन् । 

काठमाडौँ महानगरपालिकाले कमलपोखरीको चारैतिर पेटीमा बर्तालुलाई बस्ने र सूर्यलाई अर्ध्य दिन घाटलाई व्यवस्थित गरेको छ । करिब पाँच सय बर्तालुुलाई पूजाआजा गर्न कुपन वितरण गरिएको छ भने पूजा सामग्रीको सुरक्षाको समेत व्यवस्था गरिएको छ । पोखरी तथा त्यस आसपास क्षेत्रका फोहर व्यवस्थापन गरी झिलीमिली बत्तीहरु सजाइएको छ । 

काठमाडौँ महानगरपालिका–१ मा पर्ने उक्त पोखरीमा  स्वचालित रूपमा पानीको फोहोराको व्यवस्था मिलाइएको छ । काठमाडौँ महानगरपालिका–१ को समन्वयमा गरिने पूजाआजाका कार्यक्रममा बर्तालुुको भीड व्यवस्थापन साथै सहजीकरणका लागि ठूलो सङ्ख्यामा नगर प्रहरी खटाइएको छ ।

kamal-pokhari-1730908617.JPG
 

कमलपोखरीमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विभिन्न दलका नेतागण, महानगर प्रमुख अति विशिष्ट व्यक्तित्वलाई पूजामा सहभागिताका लागि यही कात्तिक २२ गते साँझ निमन्त्रणा गरिएको छ । 

यस्तै छठ पर्वको तयारीमा भक्तपुरका पोखरी र खोला सिँगारिएका छन् । भक्तपुरको कमल पोखरी, मनोहरा र गोदावरी खोलामा छठ मनाउने तयारी पूरा गरिएको हो । 

भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरीमा एक सय ५० भन्दाबढी परिवारले छठ पर्व मनाउने गरी पोखरी सिँगारेको, मूर्ति ल्याएर राखिएको र पूजाको तयारी पूरा गरेको छठ पर्व तयारी समिति भक्तपुरका व्यवस्थापक लक्ष्मण रौनियारले जानकारी दिए । 

 भक्तपुर र ललितपुरको सिमानामा रहेको गोदावरी खोलामा पनि छठ पर्वको तयारीमा झकिझकाउ बनाइएको छ ।    सूर्यलाई अघ्र्य दिन भक्तपुरको कमलविनायकस्थित कमलपोखरी किनारा पनि सिँगारिएको छ । 
    
 आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी) को उपासना गरी बिहीबार जलाशय, नदी किनारमा व्रत बसी धुमधामले छठ पर्व मनाइँदैछ । छठको मुख्य दिन भोलि बिहीबार कार्तिक शुक्ल षष्ठीका अवसरमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बसी शुक्रबार सप्तमीको दिन बिहानको उदाउँदो सूर्यको उपासना गरी अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुनेछ । 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update