Mero Chitwan
गण्डकी प्रदेशका सांसद दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर

काठमाडौं- सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद दिपक मनाङे (राजीव गुरुङ) लाई ज्यान मार्ने उद्योग मुद्दामा उच्च अदालत पाटनको फैसलालाई नै सदर गरेको छ ।

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र टेकनारायण ढुंगानाको संयुक्त इजलासले गण्डकी प्रदेशका सांसद एवं पूर्व मन्त्री दिपक मनाङेलाई दोषी ठहर गरेको हो । पाटन उच्च अदालतले मनाङेलाई ज्यान मार्ने मुद्दामा दोषी ठहर गर्दै ५ वर्षको कैद सजाय सुनाएको थियो । त्यसकाविरुद्ध सर्वोच्च अदालत पुगेका सांसद मनाङेविरुद्ध उच्च अदालतको फैसला मिलेको भन्दै सर्वोच्चले ५ वर्ष कैदलाई नै सदर गरेको हो ।

२०६१ सालमा चक्रे मिलनमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले २ वर्ष कैद सुनाएकोमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६९ मा ५ वर्ष कैदको फैसला गरेको थियो । उक्त मुद्दामा सर्वोच्चका तत्कालीन न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले २०७४ मै पुनरावेदन अदालत पाटको फैसला सदर गरेको थियो । सांसद मनाङेले त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन दायर गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update