काठमाडौं- अमेरिकाको ४७ औं राष्ट्रपति चयनका लागि मतदान जारी छ । निर्वाचनमा डोनाल्ड ट्रम्प र कमलाबीच ह्यारिस मुख्य प्रतिस्पर्धा भइरहेको छ ।
न्यु ह्याम्पशायरको सानो सहर डिक्सभिल नचमा मध्यरातमा मतदान सुरु भएको हो । उक्त शहरका बासिन्दाले सबैभन्दा पहिले मतदान गर्ने परम्परा ६० वर्षदेखि चल्दै आएको छ । त्यहाँ ६ जनाले मतदान गरेकोमा डेमोक्र्याट उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन डोनाल्ड ट्रम्पले ३-३ मत पाएका थिए ।
अघिल्लो चुनावमा यहाँ ५ मत रहेकोमा सबै मत जो बाइडनको पक्षमा गएको थियो । यस्तै, कनेक्टिकट, न्यूजर्सी, न्यूयोर्क, भर्जिनिया, इन्डियाना तथा गुआम टापुमा पनि मतदान सुरु भएको छ । १६ करोड दर्ता मतदाता रहेकामा ८ करोड २२ लाखले पहिल्यै भोट हालिसकेका छन् ।
यसपटक डोनाल्ड ट्रम्प र कमला ह्यारिस बीचको चुनावी प्रतिस्पर्धा इतिहासकै कडा देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया गरी ५ सय ३८ इलेक्ट्रोरल कलेज मतमध्ये निर्वाचित हुन २ सय ७० मत आवश्यक पर्छ ।
त्यसमध्ये कसलाई मत दिने भन्ने निर्णय गरिनसकेका राज्य अर्थात् स्वीङ स्टेटको मत निर्णायक मानिन्छ । त्यस्ता राज्य ७ वटा छन् । कडा प्रतिस्पर्धा भएका कारण नतिजा आउन भने केही दिन लाग्ने अनुमान गरिएको छ । निर्वाचित राष्ट्रपतिले भने जनवरी २० देखि कार्यभार सम्हाल्ने परम्परा छ ।