-1730525474.jpeg)
काठमाडौं । आईसीसी विश्वकप लिग टूमा निरन्तर खराब प्रदर्शन गरिरहेको नेपालले फेरि अर्को पराजय बेहोरेको छ । नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो ।
यस त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध नेपालको यो दोस्रो हार हो । यस जितले अमेरिका लिग २ को शीर्ष स्थानमा उक्लिएको छ । १ दशमलव ४ ओभर बलिङ गरेका करण केशीले चोटका कारण थप बलिङ गर्न नसक्नु नेपालको हारको कारण बन्यो । अनिल साहको अर्धशतकका बाबजुद नेपालले लक्ष्य पूरा गर्न सकेन ।
ग्रान्ड प्रेरी क्रिकेट रंगशाला डालसमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको घरेलु टोली अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो ।
ओपनर शयान जहानजिगर १० रनमा आउट भए । आरोन जोन्स २६ रन बनाएर बाहिरिए । तेस्रो विकेटका लागी कप्तान मोनांक पटेल र साइतेजा मकामल्लाले १ सय ९ बलमा ८८ रनको साझेदारी गरे पछि अमेरिका बलियो अवस्थामा पुगेको थियो ।
मोनांकले ६७ रन जोडे । मकामल्लाले सर्वाधिक ७५ रनको योगदान दिए । हरमीत सिंहले ४४ बलमा ५९ रनको आक्रामक इनिङ खेले पछि अमेरिकाले प्रतिस्पर्धात्मक योगफल तयार पार्यो । नेपालका लागि गुल्शन झाले १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिए । उनी एकदिवसीय क्रिकेटको एकै इनिङमा सर्वाधिक रन खर्च गर्ने नेपाली बलर बने । यस अघि सोमपाल कामीले पाकिस्तानविरुद्ध १० ओभरमा ८५ रन खर्च गरेका थिए । सोमपाल र सन्दीप लामिछानेले समान २-२ तथा कुशल भुर्तेलले १ विकेट हात पारे ।
जवाफमा २ सय ८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ५ बलमा २ सय ४४ रनमा अल आउट भयो । नेपालका ओपनर आसिफ शेख ६ रनमा आउट भए । दोस्रो विकेटका लागि अनिल साह र कुशल भुर्तेलले १ सय १ बलमा ७१ रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरेका थिए । कुशल भुर्तेल २९ रनमा बोल्ड आउट भए । अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे । कुशल मल्ल ३३, कप्तान रोहित पौडेल १, गुल्सन झा १२ र आरिफ शेख २१ रनमा बाहिरिए ।
तल्लोक्रममा सोमपाल कामीले २७ बलमा ४६ रनको आक्रामक इनिङ खेले पनि जितका लागि प्रयाप्त भएन । दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाए । चोटका बाबजुध ब्याटिङमा आएका करण ६ रनमा नटआउट रहे ।
अमेरिकाका लागि सौरभ नेत्रवालकरले सर्वाधिक ४ विकेट लिए । नोष्थुश केंजिगे र साड्ली भान शाक्ली २-२ विकेट हात पारे ।
त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । अमेरिकाले स्कटल्यान्डसँगका दुबै खेल गुमाउँदा नेपाललाई भने दुबै खेलमा पराजित गर्यो । नेपाल लिग २ मा ११ खेलमा २ जित र ८ हारसहित ५ अंक जोडेर सातौं स्थानमा छ । अमेरिका १२ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । नेपालले सिरिजको अन्तिम खेलमा भोलि स्कटल्यान्डसँग खेल्नेछ ।