काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ४९.४ ओभरमा ७ विकेटको नोक्शानीमा पुरा गर्यो ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आइतबार राती भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा १० विकेट गुमाएर २८६ रन बनाएको थियो ।
'प्लेयर अफ द म्याच' बनेका शायन जहाँगीरले अमेरिकाका लागि सर्वाधिक १०४ रन बनाए । ९७ बल सामना गरेका उनले १२ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै मोनाकं पटेलले ६२ रन बनाए । त्यस्तै हर्मीत सिंहले ५७ रन बनाउँदा स्याड्ल भान श्यालवाएकले अविजित २९ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए । ६ ओभर बलिङ गरेका उनले २३ रन खर्चिएका थिए । त्यस्तै सोमपाल कामीले २ विकेट लिँदा १ विकेट ललित राजवंशीको नाममा रह्यो ।
नेपालका लागि कप्तान रोहित पौडलले शानदार प्रदर्शन गरे । उनले ७५ बलमा ९६ रन बनाए । सोही क्रममा उनले तीन छक्का र ८ चौका प्रहार गरे । नेपालका लागि अनिल साहले ६२ बलमा ५६ रन बनाए । उनले ५ चौका प्रहार गरे । यस्तै आशिफ शेखले ५३ बलमा ५२ रन बनाए । सो क्रममा उनले एक छक्का र ७ चौका प्रहार गरे ।
कुशल भुर्तेलले २८ बलमा ११ रन, आरिफ सेखले एक छक्का र दुई चौका प्रहार गर्दै ४५ बलमा ३७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ बलमा १३ रन, गुल्सन झाले ३ बलमा एक रन, सोमपाल कामीले चार बलमा दुई रन, सन्दीप लामिछानेले ११ बलमा ५ रन र करण केसीले तीन बलमा तीन रन बनाएर आउट भए ।
लिग २ मा ९ खेल खेल्दा केवल १ जित सहित ३ अंक जोडेको नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । अमेरिका १० खेलमा १० अंक सहित दोस्रो स्थानमा छ । नेपालले दोस्रो खेलमा भोली स्कटल्यान्डसँग खेल्नेछ ।
लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सम्मिलित छन् ।