Mero Chitwan
साफ महिला च्याम्पियनसिप : सनसनीपूर्ण खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ- नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको सनसनीपूर्ण खेलमा भारतलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो । निर्धारित समय दुवै टोलीको एक-एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । 

 त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेनन् । पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् ।  

मध्यान्तरपछिको खेलमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएपछि मैदान छोड्नु परेको थियो । खेलको ५१औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि उनले मैदान छोड्नु पर्यो ।  नेपाल अहिले १० खेलाडीमा सीमित बन्यो । रेखाले रातो कार्ड पाएपछि नेपाली दर्शकहरुले केहीबेर नाराबाजी गरेका थिए । दोस्रो हाफमा भारतकी सङ्गीता बास्फोरले उत्कृष्ट गोल गर्दै अग्रता लिइन् । भारतले गोलको खुसी मनाइरहेको अवस्थामा नेपालले लगत्तै गोल गरेको थियो । तर रेफ्रीले उक्त गोललाई मान्यता दिइनन् । तनावका कारण खेल लामो समयसम्म खेल रोकिएको थियो ।

 खेल पुनः सुरु भए लगत्तै नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा पुर्‍याइन् । त्यसपछि गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा नेपालले चार तथा भारतले दुईवटा मात्र गोल गर्न सक्यो । नेपालले अब फाइनल खेल बङ्गलादेशसँग खेल्ने छ । दशरथ रङ्गशालामा नै आइतबार दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलअन्तरले पराजित गर्दै फाइनलका लागि स्थान बनाएको हो । 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  २२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update