Mero Chitwan
'भरतपुर विमानस्थल विस्तार सरकारको प्राथमिकतामा'

चितवन-संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेले भरतपुर विमानस्थल विस्तारका लागि सरकारका तर्फबाट काम भइरहेको बताएका छन् । 

रोटरी क्लब अफ चितवनको आयोजनामा भरतपुर भ्रमण वर्षको अवसर पारेर शुक्रबार आयोजना गरिएको इन्टरनेशनल ह्यारिटेड म्याराथनको समापन समारोहमा उनले भरतपुर विमानस्थल विस्तार र क्षमता बढाउनेतर्फ सरकारले काम गरिरहेको बताएका हुन्। 

भरतपुर विमानस्थललाई रात्रिकालीन उडान गर्नसक्नेगरी उपकरण व्यवस्थापनको काम गर्न सरकार तयार रहेको उनले बताए। उनले भने, “विमानस्थल विस्तारले पर्यटकको आवागमन पनि बढ्ने छ ।” सबै दृष्टिले केन्द्रमा रहेको यस जिल्लाले पर्यटन क्षेत्रमा निर्वाह गर्नुपर्ने भूमिकालाई महत्वका साथ हेरिने गरिएको मन्त्री पाण्डेले बताए। 

रोटरी क्लबको आयोजनामा गरिएको म्याराथन कार्यक्रमले आपसी एकता, सद्भाव एवं स्वास्थ्यप्रतिको चिन्तनसँगै पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग गरेको उहाँले बताउनुभयो । स्वास्थ्य व्यक्तिले स्वास्थ्य समाज र मुलुक निर्माण गर्नसक्ने भन्दै यस्ता कार्यक्रमको महत्व धेरै हुने गरेको उनको भनाई थियो ।

  कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जिल्लाको अर्थतन्त्रलाई चलायमान गराउन भ्रमण वर्षको आयोजना गरिएको बताइन् ।  भ्रमण वर्षमा गरिने भनिएका कार्यक्रममध्ये अहिलेसम्म ५५ वटा कार्यक्रम सम्पन्न भइसकेको भन्दै उहाँले महानगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको उनको भनाइ छ । 

  रोटरी क्लब अफ चितवनको आयोजनामा भरतपुर भ्रमण वर्षको अवसर पारेर भरतपुर महानगरपालिका–२३ को घैलाघारीबाट सुरु भएको दौड मेघौलीको तेलौलीमा पुगेर सम्पन्न भएको थियो । कार्यक्रम संयोजक पियाका अनुसार १४ किलोमिटरको इन्टरनेशनल ह्यारिटेज म्याराथन कार्यक्रम गरिएको हो । म्याराथनमा दुई सय ५० जना सहभागी भएको संयोजक पियाले जानकारी दिए । 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update