Mero Chitwan
भरतपुरमा प्रस्तावित रेलमार्गको विरोधमा स्थानीय संघर्षमा

चितवन : चितवनमा पूर्व पश्चिम भएर जाने प्रस्तावित रेलमार्गको विरोधमा स्थानिय उत्रिएका छन् । भरतपुर महानगरका वडा नंम्बर ८, ७, ५ र ४ का स्थायिनवासीहरुको बस्ती नै धरापमा पार्ने गरि रेलमार्ग बनाउन लागिएको यसको विकल्प खोज्न सरकारलाई माग राखेका छन् ।उनीरुहले संयुक्त रुपमा आज विरोध कार्यक्रम गर्दै घना बस्तीको बीचमा रेलमार्ग नबनाउन आग्रह पनि गरेका छन् ।


भरतपुरका स्थानीयले मेची–महाकाली द्रुत विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौँडा–भरतपुर खण्डको डिजाइन अन्तिम चरणमा पुगेका बेला भने असन्तुष्टि जाहेर गर्दै विराधमा नै उत्रिएका छन् । जसका लागि उनीहरुले प्रस्तावित रेलमार्ग संघर्ष समिति नै बनाएका छन् ।

रेलमार्गको विकल्प खोज्नुपर्ने स्थानीयको मागमा सम्बन्धित वडाका जनप्रतिनिधिले पनि ऐक्यबद्धता जनाएका छन् । संघर्ष समितिले सोमबार जागरण अभियानको आयोजना गरेको थियो । उक्त कार्यक्रममा बोल्दै भरतपुर–८ का वडाध्यक्ष जीवनाथ कँडेलले घना बस्तीको बीचबाट कुनै हालतमा रेलमार्ग बनाउन नदिइने बताए । रेलमार्गको डिजाइन गर्ने बेलामा रेल विभागले स्थानीय सरकारसँग समन्वय नगरेको उनले बताए ।

‘समग्र वडावासीहरु एकजुट भएर लाग्नुस् । यो हाम्रो पीडा हो, हाम्रो छातीमाथि अपराध गरेको हो भनेर लाग्नुस्’, उनले भने, ‘हामीलाई विकासविरोधी भनिएको छ । हामी विकासविरोधी होइनौँ ।’ रेलमार्गका लागि लुकीछिपीरुपमा सर्वे गर्ने काम भएको भन्दै उनले रेलमार्ग बनाउने कामको प्रतिकार गर्न स्थानीय सरकार स्थानीयको साथमा हुने प्रतिबद्धता व्यक्त गरे । स्थानीय सरकारको सहमति र समन्वयबिना तयार गरिएको डिजाइनअनुसार रेलमार्ग बनाउन समन्वय गर्न पनि नसकिने उनले स्पष्ट पारे ।

प्रस्तावित रेलमार्ग पीडित संघर्ष समितिका सचिव दिव्यबाबु नेपालले रेलमार्गको विकल्प खोज्नुपर्ने विषयमा महानगर प्रमुख रेनु दाहाल र रेल विभागको ध्यानाकर्षण गराइसकिएको बताए । सौराहाबाट टिकौली जंगल हुँदै भरतपुर प्रवेश हुने रेलमार्ग भरतपुर–८ को भरतपुर रेडिमिक्सनजिकैबाट शरदपुर, गौरीगञ्ज, कृष्णपुर एकीकृत बस्ती हुँदै शिवघाट निस्किने उनले बताए । रेलमार्गले भरतपुरका मात्रै ८१५ घरधुरी प्रभावित हुने उनको भनाइ छ । ‘विकल्प हुँदाहुँदै घना बस्तीको बीचबाट रेलमार्ग लगिँदै छ’, उनले भने, ‘रेल विभागको महानिर्देशकलाई भेटेर रेलमार्ग बनाउन कर्मचारी नपठाउनू भनेको छु ।’

संघर्ष समिति र प्रस्तावित रेलमार्गका वडाध्यक्षहरुले केही दिनअघि महानगर प्रमुख दाहाललाई भेटेर रेलमार्गको विकल्प खोज्नका लागि पहल गर्न आग्रह गरेका थिए । चितवनको राप्ती नगरपालिकाका वडा नं–१, २, ३ र ६, खैरहनी नगरपालिका वडा नं–५, ७ र १०, रत्ननगर नगरपालिका वडा नं–४, ५ र ९ तथा भरतपुर महानगर वडा नं–४, ५, ७, ८ र १६ मा रेलमार्ग निर्माण गर्न प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update