पोखरा- सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरी कास्की प्रहरीको हिरासतमा राखिएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई आज अदालतमा पेस गरिने भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीको टोलीले शुक्रबार पक्राउ गरी पोखरा पुर्याइए पनि हिजो शनिबार परेकाले आजमात्र अदालत पेस गरिने भएको हो । उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा माग गर्ने तयारी प्रहरीको छ ।
जिल्ला अदालत कास्कीले शुक्रबार रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरिएका लामिछानेलाई शुक्रबार बिहान करिब पौने तीन बजे पोखरा पुर्याइएको हो । सूर्यदर्शनसहितका सहकारीको साढे ६५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको आरोपमा गोर्खा मिडियाका पूर्व प्रबन्धनिर्देशक लामिछानेलाई पक्राउ गरिएको हो । संसदीय छानबिन विशेष समितिले सहकारी बचत अपचलनमा रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
समितिको प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसपछि गत असोज ६ गते नै पक्राउ पर्नु भएका जोशी अहिले थुनामा छन् ।