
काठमाडौं । राष्ट्रिय सभाका १९ सदस्यको निर्वाचनका लागि आज (सोमबार) उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेको थियो । अन्तर्गत सातै प्रदेशमा ५२ जनाको उम्मेदवारी परेकाे निर्वाचन आयोगले जनाएको छ ।
कोशी प्रदेशमा पाँच जनाले मनोनयन दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादी केन्द्रकी चम्पादेवी कार्कीले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी एमालेबाट दुईजना र राप्रपाका तर्फबाट एकजनाले उम्मेदवारी दर्ता गराएका छन् ।
बागमती प्रदेशबाट ४ सदस्यका लागि १६ जनाको उम्मेदवारी परेको छ । गठबन्धनबाट कांग्रेसका २, माओवादी केन्द्रका १ र एकीकृत समाजवादीका १ गरी चार जनाको मनोनयन परेको छ । एमाले र राप्रपा र नेमकिमाबाट पनि चार/चार जनाको मनोनयन परेको छ ।
त्यसैगरी लुम्बिनी प्रदेशबाट २ सिटका लागि ७ जनाले राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि नाम दर्ता गराएका छन् । गठबन्धनबाट कांग्रेसका विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कु सुवेदीले मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी एमालेबाट तुलसी केसी र झविन्द्रबहादुर घर्ती क्षेत्रीले उम्मेदवारी दिएका छन् । राप्रपाबाट नीरञ्जनकुमार थापा र विजयलक्ष्मी सिंह तथा जनमतबाट बालगोविन्द चौधरीले समेत उम्मेदवारी दिएका छन् ।
मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि उम्मेदवारी दर्ता भएको छ ।
गठबन्धनले साझा उम्मेदवार उठाउँदा एमालेले एक्लै सबै सिटमा उम्मेदवारी दर्ता गराएको छ । गठबन्धनबाट कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजावादीले दुई र जसपाले एक सिट पाएका छन् ।
सातै प्रदेशमा मनोनयन दर्ता गरेकामध्ये महिलातर्फ १८ जना छन् । दलित समूहतर्फ ५ र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट ८ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी सबभन्दा बढी अन्य समूहमा २१ जनाको मनोनयन परेको छ । राष्ट्रिय सभा सदस्यका लागि माघ ११ गते निर्वाचन हुनेछ ।