Mero Chitwan
पुंगी खोलामा पर्ने मापदण्डविपरीतका संरचना घरधनीले आफैं भत्काउन थाले

चितवन-गत असोज २ गते भरतपुर महानगरले मापदण्डविपरीत निर्माण भएका संरचनामा डोजर चलायो । महानगरले डोजर चलाउँदा धनजनको क्षति नपुग्ने गरी भत्काउने नीतिअनुसार सम्बन्धित घरधनीलाई एक हप्ताको समय सीमा दियो ।

दशैं सकिएलगत्तै पुंगी खोला क्षेत्रमा पर्ने संरचना धमाधम घरधनीहरुले भत्काउन थालेका छन् । नारायणगढको लायन्स क्लबको पाँचतले भवन अहिले घरधनीहरुले भत्काइरहेका छन् । कामदारहरुले ट्रस निकालेर ढलान फुटाउने काम गरी रहेका छन् ।

महानगरले पुंगी खोला सौन्दर्यकरण अभियान अन्तर्गत लायन्स भवनबाट डोजर चलाउन सुरु गरेको थियो । यो भवन सामाजिक संस्था लायन्स क्लब अफ नारायणगढले ३० वर्षअघि निर्माण गरेको थियो । नारायणगढ ओरालो सकिने स्थानमा रहेको भवन पुङ्गी खोलाको ८० प्रतिशत भाग र सडकको २० प्रतिशत भागको जग्गा ओगटेर निर्माण गरिएको थियो ।

भरतपुर महानगरपालिकाका इन्जिनियर सूर्य लामाले लयान्स भवन लगायत अन्य भवनहरु क्रमश घरधनी आफैले भत्काउन सुरु गरेको जानकारी दिए । अतिक्रमित संरचना हटाउन पटक पटकको सूचनामा भइसकेकाले आफै संरचना भत्काउन अनुरोध गरिएको उनले बताए ।  घरधनीले अटेरी गरी संरचना नभत्काए महानगरको ऐन कानुनअनुसार जरिवाना लिइने उनको भनाइ छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले पुंगी खोला मिचेर बनाइएका सबै अवैध संरचना हटाउने अभियान जारी रहेको उल्लेख गरिन् । पुंगी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ६ करोड ६५ लाख रुपैयाँ बजेट छुट्याएको छ।
‘अहिले घरधनीहरुले मापदण्ड विपरीतका संरचना आफैं भत्काइरहनु भएको छ’,उनले भनिन् । महानगरपालिका बल प्रयोग गरेर भत्काउने पक्षमा नभएकाे उल्लेख गर्दै उनले अटेर गरे बल प्रयोग गर्न बाध्य हुने बताइन् । महानगरपालिकाले मापदण्ड विपरीतका संरचना भत्काउने र सँगसँगै सौन्दर्यकरणको कार्य पनि अघि बढाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update