Mero Chitwan
एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णालीलाई

काठमाडौं-पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्विजले जितेको छ । दशरथ रंगशालाको कभर्डहलमा आज भएको खेलमा कर्णालीले फाइनलमा ललितपुर क्विन्सलाई ३-२ सेटले हराएको हो । 

खेलको पहिलो सेट र दोस्रो सेटमा जित दर्ता गरेपछि कर्णाली  २-शून्यको सहज अवस्थामा पुगेको थियो । सुरुवातबाटै अग्रता बनाएको कर्णालीले १५-११ ले अघि रहँदै २५-१७ को जित निश्चित गर्यो । 

दोस्रो सेटमा पनि कर्णालीले ललितपुरलाई हाबी हुन दिएन। उसले १६-९ को अग्रता बनाएर २५-२० को जित दर्ता गरेको हो। तेस्रो सेटमा भने ललितपुरले नाटकीय कमब्याक गर्यो। प्रतिस्पर्धात्मक सुरुआत भएको सेटमा ललितपुरले १५-७ र १९-९ को अग्रता बनाएको थियो । 

कर्णालीको कमब्याकको कुनै प्रयास सफल हुन नसकेपछि २५-१२ को फराकिलो अन्तरले पराजित हुन पुग्यो। खेलमा पुनरागमनको लागि उसले डिफेन्स र अट्याकमा व्यापक सुधार गर्नु परेको थियो । कर्णालीले कमजोर लय कायमै राखेपछि चौथो सेटमा ललितपुर २५-१८ को जित निकाल्न सफल भयो । 

निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको अन्तिम सेटको मध्यान्तरमा ललितपुर ८-६ ले अघि थियो । त्यसपछि ११-११ मा ललितपुरलाई भेटेको कर्णाली १५-१३ को जितसहित च्याम्पियन बनेको हो । 

कर्णालीले प्रतियोगिताका सबै खेलमा जित दर्ता गरेको थियो । कर्णालीमा अनुबन्ध भएका नेपाली खेलाडी कमै अनुभवी भए पनि उसले उपाधि जित्यो। कर्णालीले लिग चरणको खेलमा पनि ललितपुरलाई हराएको थियो।

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  २२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update