चितवन-चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा गितेन्द्रबहादुर (जीबी) राईलगायत १७ जना विरूद्ध मंगलबार चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
चितवनका सरकारी वकिल शान्तिप्रसाद लुइँटेलले साहारा सहकारीका बचतकर्तामध्ये ४ सय ४६ जनाले प्रहरीमा दिएको उजुरीका आधारमा अनुसन्धान भएर आएको प्रतिवेदनका आधारमा मुद्दा दायर भएको बताए । साहारा चितवनमा ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रूपैयाँ हिनामिना भएको बचतकर्ताहरुको दाबी छ। सहकारीका कुल बचतकर्ता ६ हजार ३ सय ३४ रहेको र कुल बचत रकम ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रूपैयाँ रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
साहारा सहकारीबाट गोर्खा मिडियामा रकम गएको देखिएकोले त्यसबारे पुन: अनुसन्धान गरेर पुरक प्रतिवेदन पेस गर्न चितवन जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल)को कार्यालयले चितवन प्रहरीलाई निर्देशन दिएको छ ।
सहकारीको बचत अपचल गरेको अभियोगमा कास्की प्रहरीले पक्राउ गरेको र अदालतले कारागार चलान गरेका कुमार रम्तेललाई मात्रै चितवन झिकाएर प्रहरीले बयान लिएको थियो । अन्य १६ मध्ये ११ जना फरार, ३ जना कारागारमा रहेको र ३ जना अनुपस्थित रहेको भनी मुद्दा दायर भएको छ ।