काठमाडौं । सहकारी ठगी प्रकरणमा रवि लामिछानेका साझेदार छविलाल जोशी पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा कार्यकर्ताको भीड लागेको छ ।
रवि पक्राउ पर्ने आशंकामा कार्यकर्ताहरु पार्टी कार्यालय पुगेका हुन् । यस्तै पार्टीले काठमाडौं उपत्यकामा रहेका आफ्ना कार्यकर्तालाई केन्द्रीय कार्यालय वनस्थलीमा बोलाएको छ ।
रास्वपाले उपत्यकाका पार्टी सदस्यहरुलाई तत्काल केन्द्रीय कार्यालयमा उपस्थित हुन निर्देशन गरेको हो ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशी आज पक्राउ परेपछि सोही सिफारिसमा परेका सभापति लामिछानेसमेत पक्राउ पर्ने आशंका बढेको हो ।
सभापति लामिछाने सहितका केन्द्रीय नेताहरु पार्टी कार्यालय वनस्थलीमै बसेका छन् । आजै मात्र गृहमन्त्री रमेश लेखकले सहकारी सम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन तत्काल अघि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका थिए ।