Mero Chitwan
कालिकाका सुकुम्बासी समुदायले बनाए फोहोरबाट सजावटका सामग्री

रत्ननगर-कालिका नगरपालिकाका सुकुमबासी समुदायलाई घरमै फोहोर व्यवस्थापनको लागि तालिम दिइएको छ ।

समुदायस्तरमै फोहोर संकलन र व्यवस्थापनको आधार खोज्न सुकुम्बासीलाई फोहोर व्यवस्थापन तालिम दिइएको हो ।

कालिका नगरपालिका वडा नं ३ को आयोजना तथा कालिका नगरपालिका र लुमन्ती आवासका लागि सहयोग समुहको सहयोगमा 'बेकारबाट आविस्कार' नारासहित तीन दिने तालिम दिइएको हो । ७ वटा सुकुमबासी समुदायका ३५ जनाको सहभागिता रहेको तालिममा मिनरल वाटरको बोत्तलमा फोहोर कोचेर मुडा बनाउन, कोक, फेन्टाको बोत्तलबाट धागो निकालेर डोरी, रेशनदार बोराको धागोबाट माला, प्लाष्टिकको बोत्तलबाट फुल, कप तथा सजावटका सामग्री बनाउन सिकाइएको लुमन्तीका कार्यक्षेत्र संयोजक सिंह बहादुर लामाले जानकारी दिए ।

तालिमका प्रशिक्षक श्रीरेन्द्रप्रकास पौडेलले फोहोर व्यवस्थापनको लागि डम्पिङ साइट खोजी गरिरहेको कालिकामा तालिक फलदायी हुने बताए । उसले यस प्रकारको तालिम विद्यालय स्तरमा सञ्चालन  गर्नुपर्ने बताए । समापन कार्यक्रममा वडाध्यक्ष वीरेन्द्र तामाङले घरबाट फोहोरको वर्गीकरण गरि उपयोगी सामग्री निर्माणको लागि बजेट विनियोजन गरेरै योजना सञ्चालन गर्ने र त्यसलाई सार्थक बनाउने बताए । अब विद्यालय र समुदाय स्तरमा यो कामलाई तीब्रता दिने उनको भनाइ छ ।

कालिका नगरपालिकाका शाखा अधिकृत प्रकाश पौडेलले घरेलु स्तरबाट फोहोर व्यवस्थापनको लागि 'बेकारबाट आविस्कार' नारासहितको कार्यक्रम उत्कृष्ट नमुना भएको बताए । कालिकाका फोहोर संकलन र व्यवस्थापनको काम सुरुवातको अन्तिम चरणमा रहेको भन्दै उनले फोहोर व्यवस्थापनका लागि नगरवासीलाई जिम्मेवार बनाउने गरि आयोजना गरिएको तालिम फलदायी हुने बताए । तालिममा सहभागी सीता तामाङले तालिम लिएपछि फोहोरबाट उत्कृष्ट सामग्री बनाउन सिकेको र अब फाल्ने र जलाउने फोहोरलाई संकलन गरि प्रयोगमा ल्याउने बताइन् ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update