Mero Chitwan
सहकारी छानबिन समितिद्वारा ११ सय २४ पेजको पूर्ण प्रतिवेदन सार्वजनिक

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन आज सार्वजनिक भएको छ । संसद् सचिवालयले वेबसाइटमार्फत् प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा ६ वटा सहकारीबाट मात्रै पूर्वगृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा २२ करोड ४६ लाख ३० हजार रुपैयाँ कानुनविपरित गएको उल्लेख छ । समितिले सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता र सहारा सहकारीबाट गोर्खा मिडियामा कानुन विपरीत रकम गएको जनाएको हो । गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईले उक्त पैसा मिडियामा लगेका हुन् । 

राईले विभिन्न आफन्तको नाममा प्रचलित सहकारी कानुन विपरीत ऋण तथा पेस्की गरी जम्मा २ अर्ब ५८ करोड बराबरको रकम पठाई अपचलन भएको ठहरसमितिले गरेको छ । प्रतिवेदन अनुसार ६५ करोड ५४ लाख ४ हजार ५३८ रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा राईले जम्मा गरेका हुन् । 

त्यसमध्ये २२ करोड ४६ लाख ३० हजार सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट जम्मा भएको देखिएको छ । त्यस्तै ४३ करोड ७ लाख ७४ हजार ५३८ विभिन्न व्यक्तिका नाममा ऋण देखाई रकम गोर्खा मिडियामा जम्मा गरी जीबी राईको नाममा ऋण कायम गरिएको देखिएको छ । 

प्रतिवेदन अनुसार जम्मा भएको रकममध्ये १२ करोड गोर्खा मिडिया नेटवर्क प्रालिको शेयर पुँजीवापत जम्मा गरिएको र ८ करोड २० लाख ९१ हजार ६४३ जीबी राई स्वयम्ले प्रयोग गरेको उल्लेख छ ।

पछि रवि लामिछाने समेतले गोर्खा मिडिया छाडेपछि गोर्खा मिडियाको सञ्चालकको रूपमा भित्रिएको जीबी ग्रुप अफ कम्पनीजले २०७९ असार ३० मा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २ करोड ऋण लिएको समेत प्रतिवेदनले ठहर गरेको छ ।

संसदीय छानबिन विशेष समितिले गत भदौ ३१ गते संसद्लाई प्रतिवेदन बुझाएको थियो । लगत्तै सभामुखले प्रतिवेदन सरकारलाई हस्तान्तरण गर्न संसद् सचिवालयलाई निर्देशन दिनुभएको थियो । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

प्रतिवेदन तलको लिंकमा गएर डाउनलोड गर्न सकिन्छ 

https://hr.parliament.gov.np/np/publication/1726814758

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update